
काठमाडौं । टेस्टी बिस्कुट लगायतका उत्पादन बनाउने कम्पनी क्वालिटी डाइट एन्ड फुड प्रालिले ९ महिनामा ६३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
२०२५ को ९ महिनामा यो कम्पनीले ६३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
यसअघि २०२४ मा यो कम्पनीको व्यापार ६६ करोड ९० लाख रुपैयाँ थियो । त्यस्तै, २०२३ मा ६४ करोड ८० लाख रुपैयाँ र २०२२ मा ६५ करोड ३० लाख रुपैयाँको कारोबार यस कम्पनीले गरेको थियो ।
१९९९ मा स्थापना भएको क्वालिटी डाइन एन्ड फुड प्रालि टेस्टीका साथै बटर क्र्याकर, टपजस्ता बिस्कुटका लागि चर्चित कम्पनी हो । यो कम्पनीसँग सुनसरीको दुहवीमा वार्षिक ६ हजार ४७४ मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योग छ ।
यो कम्पनीमा चार दशकभन्दा लामो समयदेखि नेपालमा विभिन्न व्यवसायमा सक्रिय काब्रा ग्रुपका चार जनाको बराबर सेयर स्वामित्व रहेको छ ।
हालका लागि भने यो कम्पनीले ७४ करोड ३३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स रेटिङ नेपालले यो कम्पनीलाई २५ करोड ३३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ३५ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ भने १४ करोड रुपैयाँको दीर्घकालिन/अल्पकालिन कर्जा सुविधाका लागि भने डबल बि/ए फोर रेटिङ पाएको छ ।