Nepal Purbadhar

संस्थापक सेयरका लागि अलग आइजिन व्यवस्था प्रस्तावप्रति गैरआवासीय नेपाली संघको आपत्ति – लगानी निरुत्साहित हुन्छ


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले संस्थापक सेयरको अभौतिकीकरणका क्रममा अलग ‘आईएसआईएन नम्बर’ (International Securities Identification Number – ISIN) व्यवस्था गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले ल्याएको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएको छ।

सीडिएससीले हालै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष यस्तो प्रस्ताव पेश गरेको जनाउँदै संघले यसले पूँजी बजार, लगानी वातावरण तथा नेपालमा गैरआवासीय नेपालीको लगानी प्रवाहमा नकारात्मक असर पार्ने ठहर गरेको हो ।

संघको विज्ञप्तिमा भनिएको छ, “उक्त प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, शेयर कारोबारमा अन्योल बढ्ने, र पूँजी बजारको स्थायित्व तथा पारदर्शितामा गम्भीर असर पर्ने स्पष्ट संकेत देखिएको छ।”

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम गर्दै आएको उल्लेख गर्दै यस्तो प्रस्तावले साना तथा मझौला लगानीकर्ताको उत्साहमा समेत असर पार्ने जनाएको छ। हाल ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप र वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेखनीय लगानी रहेको संघको भनाइ छ ।

संघले प्रस्तावित व्यवस्थाले संस्थापक सेयरधनीले शेयर बिक्रीमा कठिनाइ भोग्ने, वैदेशिक लगानी फिर्ता गर्न समस्या आउने, र कानुनी अन्योल सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने चेतावनी दिएको  छ।

“पूँजी बजारमा स्थायित्व र पारदर्शिता कायम राख्नु, लगानी सुरक्षाको प्रत्याभूति दिलाउनु र प्रवासी नेपाली तथा वैदेशिक लगानीकर्ताको विश्वास जोगाउनु दीर्घकालीन समृद्धिको आधार हो,” विज्ञप्तिमा भनिएको छ ।

संघले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र सिडिएससीलाई प्रस्तावको गम्भीर पुनर्विचार गर्न, सरोकारवाला निकायहरूसँग व्यापक छलफल गरी प्रभाव मूल्याङ्कन गर्न र सन्तुलित निर्णय लिन आग्रह गरेको छ। साथै, लगानीमैत्री वातावरण जोगाई प्रवासी नेपाली तथा निजी क्षेत्रलाई आशावादी सन्देश दिन पनि सरकारलाई अनुरोध गरिएको छ ।


Read Previous

जलविद्युत् विकासमा अब नीति मात्रै हैन, नियमन पनि निर्णायक

Read Next

काइयीको ‘बबाल अफर’: एक्स थ्रि प्रो ईभीमा क्यास छुट

Nepal Purbadhar