
काठमाडौं । कार्यकाल सुरु भएपश्चात कहिल्यै लोडसेडिङ हुँदैन भन्दै घोषणा गरेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङको तालिका सार्वजनिक गरेका छन् ।
शाक्यको नेतृत्वको नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमै तालिका सार्वजनिक गरेर दैनिक ६ घन्टा लोडसेडिङको घोषणा गरेको छ ।
प्राधिकरणले विद्युतको माग धान्न नसकेकोभन्दै चितवनमा आइतबारबाट लोडसेडिङ हुने घोषणा गरेको हो । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले सूचना जारी गर्दै आइतबारबाट दैनिक ६ घन्टासम्म लोडसेडिङ हुने बताएको छ ।
सार्वजनिक भएको सूचनाअनुसार पश्चित चितवन र माडी क्षेत्रमा बिहान ३ घन्टा र दिउँसो ३ घन्टा लोडसेडिङ हुनेछ । नारायणी-माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म लोडसेडिङ हुनेछ । त्यस्तै, मेघौली-विजयनगर-शुक्रनगर फिडरमा बिहान ९ देखि १२ र साँझ ६ देखि ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ । साथै, जगतपुर-रामपुर फिडरमा भने मध्याह्न १२ देखि ३ बजेसम्म र बेलुका ९ देखि १२ बजेसम्म लोडसेडिङ हुनेछ ।
चनौली वितरण केन्द्रले जारी गरेको सूचनाकाअनुसार केन्द्रमार्फत वितरित विद्युत लाइन भरतपुर १३२/३३ के.भि. सब स्टेशनबाट आउने ३३ के.भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने अवस्था रहेको छ ।
क्षमताले नधान्ने भएकाले यसको समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने गरी अर्को ३३ के.भी. प्रसारण लाईन निर्माणको क्रममा रहेछ ।
यद्यपी अत्याधिक गर्मी र रोपाईको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएरसम्म पुगेका कारण केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेकाले विद्युत आपूर्ति अवरुद्ध हुने केन्द्रले जनाएको छ ।
लोडसेडिङ कति समयका लागि हुने भन्नेबारे प्राधिकरणले केही खुलाएको छैन । केन्द्रले जारी गरेको सूचनामा भने लोड व्यवस्थापन हुँदै जाँदा समय अगावै लाईन सुचारू हुने उल्लेख गरिएको छ ।