
काठमाडौं । काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीले तयार पारेको कला प्रदर्शनी चलिरहेको छ । चौधरीका चित्रले थारु समुदायका मानिसको दैनिक जीवन, रितिरिवाज तथा संस्कृतिलाई झल्काएका छन् ।
प्रदर्शनीले थारु समुदायको जीवनशैली र परम्पराको कथा भनेको छ। थारु समुदायको प्राचिन वंश कसरी भारतको थार मरुभूमिदेखि नेपाल र एसियाभर फैलियो भन्ने चित्रण उनका कलामा भएको छ । आफ्ना कलामा चौधरीले पुर्खाको स्मृति र समुदायको पहिचान पनि झल्काएका छन् ।

ग्यालरीमा चौधरीले खुला आकाशमुनि प्राचिन तरिकाले कृषि कर्म गरिरहेका दृश्य, थारु महिलाको शान्त र निर्णायक भूमिका, पुस्तान्तरण हुँदै आएका लोपोन्मुख कर्म आदि देखाएका छन् ।
उनका कलाले थारु परम्परा र समुदायले सम्मान गर्ने देवतालाई झल्काउँछन् । उनी भन्छन्, “म आफैं थारु समुदायबाट हुँ। म त्यही जीवन बाँचेको मान्छे हुँ। अहिलेका धेरै युवाहरूले थारु संस्कृतिको महत्व बिर्संदै गएका छन्। म चाहन्छु मेरो कला हेरेर थारुहरू आफ्नै जरा सम्झुन्।”

सन् २०२१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रदेश स्तरीय उत्कृष्ट कला पुरस्कार प्राप्त गरिसकेका चौधरीले नेपाल र बंगलादेशका विभिन्न प्रदर्शनीहरूमा भाग लिइसकेका छन्।
प्रदर्शनीमा कुल ३० वटा कलाकृतिहरू राखिएका छन् । प्रदर्शनी असार २८ गतेसम्म चल्नेछ ।
