Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

‘हिमालयन हाइड्रो एक्स्पोको मुख्य आकर्षण ग्रीन हाइड्रोजन हुनेछ’


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले इभेन्ट सोलुसन नेपालसँगको सहकार्यमा आगामी बैशाख १२ देखि १४ गतेसम्म चौंथो संस्करणको हिमालय हाइड्रो एक्स्पो आयोजना गर्दैछ । इपानले जलविद्युत उत्पादनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा दिएर राजधानीको भृकुटीमण्डमा आयोजना गर्न लागिएको हाइड्रो एक्स्पोको तयारी तीव्र पारेको छ । ५० हजारबाट अवलोकन गराउने लक्ष्य राखिएको हाइड्रो एक्स्पोको तयारी, प्रदर्शनी, प्राविधिक सत्रलगायत विषयमा इपानका महासचिव बलराम खतिवडासँग नेपाल पूर्वाधार डटकमले गरेको कुराकानीको संक्षिप्त सारः

चौंथो संस्करणको हाइड्रो एक्स्पोको तयारी कसरी भइरहेको छ ?

इपानले र इभेन्ट सोलुसन नेपालसँग मिलेर चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिरहेको छ । इपान पदाधिकारी सबै अहिले हाइड्रो एक्स्पोको तयारीमा लागेका छौं । अहिले स्टल बुकिङको काम धमाधम भइरहेको छ । स्वदेशी तथा विदेशी कम्पनीले पनि चासो देखाएर स्टल बुकिङ गरिरहेका छन् । एक्स्पोको पहिलो दिन बैशाख १२ गते बिहान इभी -याली गर्दैछौं । त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा केही प्राविधिक सत्रहरु पनि हुनेछन् । एक्स्पोको मुख्य आकर्षण भने प्रदशर्नी नै हुनेछ । विभिन्न कम्पनीले आफ्ना नयाँ नयाँ उत्पादनमा प्रदर्शनका लागि राख्नेछन् ।

हाइड्रो एक्स्पोमा कति स्टल बुकिङ भइसकेका छन् ?

भृकुटीमण्डमभित्र उपलब्ध १०० भन्दा बढी स्टलमध्ये करिब ७० प्रतिशत बुकिङ भइसकेको भन्ने सुन्नमा आएको छ । बाँकी स्टलका लागि पनि प्रस्ताव आइरहेको छ । एक्पो सुरु हुन समय बाँकी छँदै धेरै स्टल बुक भइसक्नुले यो पटकको एक्स्पो विषेश हुने हाम्रो अपेक्षा छ ।

यसपटकको हाइड्रो एक्स्पोलाई कसरी विशेष बनाउँदै हुनुहुन्छ ?

पहिलो पटक हाइड्रो एक्स्पो आयोजना गर्दाको तुलनामा अहिले नेपालको ऊर्जा क्षेत्र धेरै अगाडि पुगिसकेको छ । विद्युत उत्पादन बढेको छ । विद्युत कटौतीको समस्या समाधान भइसकेको छ । निजी क्षेत्रले लगानी गरेका नयाँ नयाँ जलविद्युत आयोजना प्रसारण प्रणालीमा थपिँदै गइरहेका छन् । हाम्रो जलविद्युतले भारतको बजारसम्म पहुँच पाएको छ ।

सरकारले पनि सन् २०३५ सम्ममा निर्यातलाई महत्त्व दिँदै विद्युत जडित क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने घोषणा गरेको छ । सरकारको यो घोषणाले जलविद्युतको क्षेत्रमा काम गर्ने लगानीकर्ता प्रवर्द्धक, बैंक, परामर्शदाता, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण उत्पादक सबैलाई उत्साहित बनाएको छ । त्यसैकारण, पनि यो पटकको हाइड्रो एक्स्पोमा सबैको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छौं । र, धेरैले हाइड्रो एक्स्पोका सम्बन्धमा चासो पनि लिएको देखिरहेका छौं ।

हाइड्रो एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

इपानने हरेक २ वर्षमा जलविद्युत क्षेत्रमा भइरहेको नयाँ नयाँ प्रविधिको विकासबारे जानकारी दिन, जलविद्युत आयोजना निर्माण गर्न लाग्ने तथा जडान हुने उपकरण उत्पादक एवं जडानकर्ता सबैलाई एउटै स्थानमा भेट्ने र बुझ्ने प्लाटफर्म बनाउने उद्देश्यले नै हाइड्रो एक्स्पो आयोजना गर्दै आइरहेको छ ।

हाइड्रो एक्स्पो आयोजना हुँदा प्रवर्द्धक, बैंक, परामर्शदाता, उपकरण उत्पादन तथा निर्यातकर्ता सबै एकै स्थानमा भेला हुन पाउने र सिधै आफ्ना ग्राहकसँग प्रत्यक्ष भेटघाट गरेर सम्पर्क स्थापित गरी भविश्यमा सँगै जोडिएर काम गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्नेछ । यसबीचमा ऊर्जा क्षेत्रमा भएको नयाँ प्रविधिको विकास एवं उपलब्धीबारे पनि एक्स्पोमा प्रदर्शन गरी प्रवद्र्धन पनि गरिनेछ । एक्स्पोले निर्माण उपकरण, मेसिनरी उपकरण उत्पादक सबैलाई समेट्नेछ ।

पहिलो हिमालयन हाइड्रो एक्स्पो हुँदा देशमा लोडसेडिङ थियो । विगतका एक्स्पोले जलविद्युत क्षेत्रको विकासमा कत्तिको सहयोग पुग्यो ? र अब आयोजना हुने एक्स्पोले कस्तो सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ?

नेपालको जलविद्युत क्षेत्रको विकास अहिलेको अवस्थामा आइपुग्नुमा बिगतमा आयोजना भएका ३ वटा हाइड्रो एक्स्पोले धेरै सहयोग पुग्यो । जलविद्युत आयोजनामा लगानी गर्ने लगानीकर्ताका लागि निर्माण उपकरण तथा मेसिनरी उपकरणका बारेमा बुझेर राम्रा उपकरण छनोटमा विगतमा सहयोग पुगेको थियो । यो अवधिमा जलविद्युतका लगानीकर्ता एवं उपकरण उत्पादन गर्ने कम्पनीको संख्या पनि बढेको छ । जसले गर्दा हामी प्रवर्द्धकका लागि आफ्ना आयोजनामा उत्कृष्ट र गुणस्तरीय मेसिन छनोट गर्न सहज भएको छ । साथसाथै, उपकरणको मुल्यमा पनि प्रतिश्पर्धा हुन पाएको छ । त्यसकारण, हिमालयन हाइड्रो एक्स्पोले प्रवर्द्धकलाई प्राविधिक तथा आर्थिक हिसाबले सहयोग पुगेको छ ।

यसपटकको हाइड्रो एक्स्पो विगतको ३ वटा एक्स्पोको तुलनामा अझै विशेष बनाउन हाम्रो प्रयास हुनेछ । यो हाइड्रो एक्स्पोमा पनि लगानीकर्ता, बैंक, निर्माण उपकरण एवं मेसिनरी उपकरण उत्पादक, परामर्शदाता सबै एकै स्थानमा सम्पर्कमा आउनेछन् । सबैको एकअर्कामा परिचय हुन्छ । सम्पर्क स्थापित हुन्छ । यसले प्रवद्र्धकलाई अवश्य पनि फाइदा पुग्नेछ । साथसाथै, उपकरण सप्लायरका मेसिन तथा नयाँ प्रविधि प्रदर्शन गर्न ल्याउनेलाई पनि मार्केटिङ गर्न सहज हुनेछ । त्यसकारण, यसपटकको एक्स्पो पनि सबैका लागि सम्पर्क विन्दु बन्न सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।

हाइड्रो एक्स्पोको मुख्य आकर्षण के हुनेछ ?

ग्रीन हाइड्रोजन उत्पादन नेपालका लागि नयाँ प्रविधि हो । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजनको अध्ययन गर्दै आइरहेको छ । भर्खरै मात्र केयुले धुलिखेलमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन निर्माण गरी सफल परीक्षण गरेको सुखद खबर हामीले सुन्न पायौं । केयुले उत्पादन गरेको ग्रीन हाइड्रोजनबाट पहिलो पटक गाडी गुडेको छ । यो देशका ठूलो उपलब्धी हो । केयुको अध्ययनबाट मिलेको सफलताले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनका लागि भविश्यमा लगानीको ढोका खुल्ने विश्वास बढेको छ ।

केयुले सफलतापूर्वक गुडाएको हाइड्रोजन गाडी यो पटकको एक्स्पो अवधिभर प्रदर्शनमा राख्ने कुरा भएको छ । एक्स्पोमा आउने विशेष व्यक्तिलाई केयुको हाइड्रोजन इन्धनको गाडी चढाएर गुडाउने पनि हाम्रो योजना छ । त्यसकारण पनि चौंथो हाइड्रो एक्स्पोको मुख्य आकर्षण ग्रीन हाइड्रोजन प्रविधि तथा हाइड्रोजन इन्धनबाट चल्ने गाडीको प्रदर्शनी हुनेछ ।
हाइड्रो एक्स्पोमा ७ वटा प्राविधिक सत्र राख्ने भनिएको छ ।

कुन कुन विषयमा सत्र आयोजना गरिँदैछ ?

३ दिनको एक्स्पोमा ७ वटा सत्रमा प्रस्तुतिकरण तथा ‘प्यानल डिस्कसन’ कार्यक्रम राख्दैछौं । जसमा वातावरणीय, प्राविधिक, आर्थिक, जलवायु परिवर्तन, ग्रीन हाइड्रोजन लगायत विषयका सत्र हुनेछन् ।

एक्पोमा विशेष गरी कस्ता कस्ता कम्पनीले सहभागिता जनाउँदैन् ?

एक्स्पोमा सहभागिता जनाउँने धेरै जलविद्युतसँग सम्बन्धित स्वदेशी कम्पनी नै हुनेछन् । तर, केही विदेशी कम्पनीले पनि सहभागिता जनाउँदैछन् । विशेष गरी हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन एवं जडानको काम गर्ने विदेशी कम्पनीले सहभागिता जनाउन बढी चासो देखाएका छन् । साथै, जलविद्युत आयोजनाको भूमिगत काम गर्ने निर्माण उपकरण उत्पादन तथा बिक्री गर्ने कम्पनीले पनि एक्स्पोमा भाग लिँदैछन् । केही चिनियाँ कम्पनीले चासो देखाएर स्टल बुकिङ गरेका छन् । भारतबाट आउने धेरै कम्पनी छन् । केही युरोपियन कम्पनी छन् । एक्स्पोको पार्टनर क्यानडा, अमेरिका, जर्मनीलगायत देशले पनि सहयोग गरेका छन् ।

सर्वसाधारण हाइड्रो एक्स्पोमा कसरी सहभागी हुन सक्नेछन् ?

हामीले हाइड्रो एक्स्पोको प्रवेश निशुल्क राखेका छौं । जलविदूत क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालादेखि सर्वसाधारण सबैले सामान्य ढंगले कुनै शुल्क नतिरी हाइड्रो एक्स्पोमा सहभागिता जनाउन सक्नेछन् । यो पटक ५० हजार बढीले एक्स्पो भ्रमण गर्ने अपेक्षा गरेका छौं ।


Read Previous

हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

Read Next

नारायणगढ-बुटवलअन्तर्गत पूर्वी खण्डकाे २९ किलाेमिटर कालोपत्र   

Leave a Reply

Your email address will not be published.