काठमाडौं ।६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम)बाट खन्ने गरी डिजाइन तयार गर्ने काम भइरहेको छ । आयोजनाको १३ किलोमिटर लामो मुख्य सुरुङ खन्न टिबिएमको प्रयोग गर्ने गरी डिजाइन तयार भइरहेको हो ।
आयोजनाको मुख्य सुरुङ नै १३ किलोमिटर लामो भएकाले टिबिएम प्रविधिबाट खन्ने गरी डिजाइन तयार गर्ने काम भइरहेको दूधकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । ‘मुख्य सुरुङको लम्बाई नै १३ किलोमिटर लामो छ,’ उनले भने, ‘परम्परागत विधिबाट जाँदा अडिट ५ किलोमिटर अडिट सुरुङ पनि खन्नु पर्ने हुन्छ । तर, टिबिएम प्रयोग गर्दा अडिट सुरुङ बनाउनु नपर्ने हुँदा टिबिएमको विकल्पमा जाने योजना अनुसार काम गरिरहेका छौं ।’
उनले दूधकोसी सुरुङ खन्न टिबिएम प्रयोग हुँदा भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजनापछिको नेपालमै तेस्रो तथा पहिलो जलविद्युत आयोजना हुने बताए । दूधकोसीको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चासो दिएको गुरुङले बताए ।
‘सुरुङ खन्न टिबिएमको प्रयोग केही जोखिमयुक्त भएपनि मानवीय क्षतिको जोखिम भने शून्य नै हुन्छ । त्यसकारण अहिले हामी टिबिएमको प्रयोग दूधकोसी आयोजनामा गर्ने सम्बन्धमा विशेष विश्लेषण गरिरहेका छौं,’ उनले भने ।
टिबिएम आयोजना स्थलसम्म पुर्याउन सगरमाथा राजमार्गको गाईघाटदेखि ३० किलोमिटर खण्डमा खासै समस्या नदेखिने भएपनि रानीबास कटेपछिको फोक्सिङटारसम्मको ओरालो खण्डमा केही कठिनाई आउन अध्ययनले देखाएको छ । टिबिएम लैजान आउने समस्या समाधानको उपाय पनि रहेको उनले बताए ।
दूधकोसी विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको जलविद्युत आयोजना हो । यो आयोजना निर्माण सम्पन्न गर्न निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) लागत अनुमान गरिएकाे छ । कूल लागतमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।
एसियाली विकास बैंक (एडिबी) काे नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रि वित्तीय संस्थाहरूबाट आयोजनामा १ अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।
आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८ घरधुरी पूर्ण २९०१ घरधुरी आंशिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको निर्माण अवधि ७ वर्षको हुनेछ ।