काठमाडाैं। एक वर्षमा मुग्लिन-मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम ६ प्रतिशत मात्रै सकिएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने याे ३९ किलोमिटर सडक खण्डकाे काम कछुवा गतिमा अघि बढेकाे हाे ।
नागढुङ्गा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको थियाे । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो ।
नक्साङ्कन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ । एक वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै छ महिना लागेको उनले जानकारी दिए ।
आचार्यका अनुसार अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ । यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटा पुलको काम भइरहेको उनले बताए । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुन सकेको छैन । अन्य दुई पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।
३ वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाइ सात मिटर छ । अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आचार्यले बताए ।
बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्नेछ । ४ लेन सडक १४ मिटर फरकिलो हुन्छ । उकालोमा सडक ३ लेनको बनाइने छ । र, यो १०.५ मिटर फराकिलो हुनेछ ।
त्यस्तै, ३ लेनको बन्ने उकालो सडक तीन किलोमिटर छ । सडकको स्तरोन्नतिका लागि रूख काट्न वन विभागको कोषमा पैसा पठाइँदैछ भने विद्युतकाे पोल सार्ने प्रक्रिया अघि बढाइएको छ । गएको एक वर्ष ढिलाइ भएको भए पनि अब कामले गति लिने आचार्यले बताए ।