Nepal Purbadhar

बगरखोला जलविद्युत आयोजना निर्माणमा स्थानीय अवराेध,स्थान परिवर्तन गर्न माग


बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका स्थानीयवासीले ५.५ मेगावाटकाे बगरखोला जलविद्युत  आयोजनाकाे निर्माण अघि बढाउन राेक लगाएका छन् । स्थानीयबासीले अहिलेकै डिजाइन अनुसार आयोजना निर्माण गर्दा गाउँकाे स्वरुप बिग्रने भन्दै काम अघि बढाउन नदिने भएका हुन् ।

रघुगङ्गा गाउँपालिकाकाे ७ नम्बर वडाले मंगलबार आयोजना गरेको सर्वपक्षीय भेलाले चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरेकाे आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ । साथै, भेलाले यथास्थितिमा आयोजनालाई अघि बढाउन नदिने निर्णय समेत गरेकाे छ ।

भेलाले आयोजनाकाे स्थान परिवर्त गरेर काम अघि बढाउन सकिने विकल्प दिएकाे छ । गाउँकै नजिकबाट बग्ने खोलाको पानीलाई सुकाएर जलविद्युत् निर्माण गर्दा बगरखोलाको अस्तित्व समाप्त हुने र गाउँको फेदीतर्फ विद्युतगृह बनाउँदा प्राकृतिक स्वरुप बिग्रने भएकाले अहिले प्रस्तावित ठाउँमा आयोजनालाई बनाउन नदिने निर्णय गरेको वडा अध्यक्ष थकबहादुर पाइजाले बताए ।

उनका अनुसार गाउँको छेउमा रहेको धमाखु खेलमैदानदेखि माथि रहेको कुकुर भुक्ने स्थानतर्फ विद्युतगृह रहनेगरी आयोजनालाई बनाउन स्थानीयले आयोजना प्रवर्द्धकहरूलाई सुझाव दिएका छन् । चिमखोलाको पात्लेखेत गाउँको फेदीमा बाँध रहने यस आयोजनाको विद्युतगृह चिमखोला गाउँभन्दा केही तल प्रस्ताव गरिएको थियो ।

मोना हाइड्रोपावर कम्पनीका अध्यक्ष चक्रबहादुर थापालगायत आयोजना प्रवर्द्धकको सहभागिता रहेको उक्त सर्वपक्षीय छलफलमा स्थानीयवासीले प्रभावित क्षेत्रका सरोकारवालालाई जानकारी नदिइकन आयोजनाको नक्साङ्कन भएको जनाउँदै आपत्ति जनाएका थिए ।

कार्यक्रममा प्रवर्द्धक कम्पनीका अध्यक्ष थापाले बगरखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमति लिएको कम्पनीले काम अघि नबढाएका कारण खारेजीको अवस्थामा पुगेपछि आफूहरूले सक्रियता जनाएर आयोजनालाई अघि बढाउन लागेको जानकारी गराए । उनले प्रवासी म्याग्देलीको नेतृत्वमा यस आयोजनालाई अघि बढाउन लागिएको बताउँदै आयोजना बनाउन सकरात्मक सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।

“प्रवासीहरूले जिल्लाको सामाजिक क्षेत्रमा वर्षौँदेखि सहयोग गर्दै आएका छौं, अब विदेशमा आर्जन गरेको पुँजीलाई लगानीका रूपमा भित्र्याउनुपर्छ भनेर यस आयोजनालाई अघि बढाउन जमर्को गरेका हौं, अन्य व्यक्तिले दर्ता गरेर अलपत्र परेको अवस्था पुनः पक्रिया पूरा गरेर मोना हाइड्रोपावर कम्पनीले आयोजना अघि बढाउन लागेको हो”, उनले भने ।

बगरखोला जलविद्युत् आयोजनाको हालै विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवर्द्धक मोना हाइड्रोपावरले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ प्रतियुनिटका दरले विद्युत् खरिद सम्झौता  (पिपिए) गरिसकेकाे छ ।

२.७ किलाेमिटर पेनस्टक पाइप लाइनबाट ल्याएको पानीबाट उत्पादन हुने विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रस्ताव गरिएको छ ।


Read Previous

ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने

Read Next

ट्रंक/डेडिकेटेड लाइन विवाद समाधान गर्न छानबिन समिति गठनको महासंघद्वारा स्वागत