मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–दक्षिणकाली सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । याे सडक खण्डकाे मर्मत तथा स्तराेन्नतिका लागि आवागमन बन्द गरिएको हाे ।
दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा शुक्रबारदेखि आवागमन बन्द गरी सडक स्तरोन्नतिको काम सुरु गरिएकाे छ । सडक स्तराेन्नति अवधिभर आगामी चैतसम्म आवागमन बन्द हुनेछ ।
सडक खण्ड आगामी चैत ३० गतेसम्म नै बन्द रहने भएकाले याे मार्गकाे सट्टा वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
हाल यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनकाअनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान वैकल्पिक रुट लिन सकिनेछ ।