इलाम। इलामका स्थानीयले ७.८ मेगावाटकाे सुपर माई जलविद्युत केन्द्रकाे विद्युत उत्पादन बन्द गरिदिएका छन् । स्थानीयले जलिवद्युत केन्द्रले खाेलामा छाेड्नु पर्ने जति पानी नछाेडेकाे तथा आफ्ना माग पूरा नगरेकाे भन्दै साेमबार साँझदेखि विद्युत उत्पादन बन्द गरिदिएका हुन् ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा निर्माण भइ सञ्चालनमा रहेकाे जलविद्युत केन्द्रकाे विद्युत उत्पादन बन्द गरी खाेलाकाे पानी खाेलामा छाेडेकाे स्थानीय हरि भण्डारीले बताए । उनका अनुसार स्थानीयवासीले सोमबार रातिदेखि नै जलविद्युत केन्द्र परिसरमा जाग्राममा बसेर उत्पादन बन्द गराएका छन् ।
सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । उत्पादन बन्द भएपछि प्रवर्द्धक कम्पनीले विद्युत बिक्रीबाट हुने दैनिक ५ लाख रुपैयाँ आम्दानी गुमाइरहेकाे छ ।
जलविद्युत केन्द्रकाे प्रवर्द्धकले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि काम नगरेकाे स्थानीयकाे गुनासाे छ ।
“तल्लाे तटका लागि २० प्रतिशत पानी छाेड्नु पर्ने भएपनि त्याे छाेडिएकाे थिएन । त्यही कारण हामीले विद्युतगृहमा जाने पानी राेकेर खाेलामा छाेडेका हाैं । फेरि सडक मर्मतकाे काममा सहयाेग नगरेपछि उत्पादन नै बन्द गरेर दबाब दिने अवस्थामा हामी पुगेका हाैं,” भण्डारीले भने ।
सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ ।
माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ । जलविद्युत प्रवर्द्धकले माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको दाबी छ ।
प्रवर्द्धक सुपर माई हाइड्राे पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए । पुराना माग पूरा हुनासाथ स्थानीयवासीले पटक-पटक नयाँ माग लिएर आउने गरेकाे उनले बताए ।
पछिल्लो समय पब्लिक कम्पनी बनेपछि ५० हजार बढी लगानीकर्ता रहेको कम्पनीले एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको कम्पनीले जनाएकाे छ ।