Nepal Purbadhar

श्रीलंका टापुलाई ठाकुरबारीसँग जोड्न झोलुङ्गे पुल निर्माण गरिने


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीसँग श्रीलंका टापु जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि ५ किलाेमिटर लामाे झोलुङ्गे पुल बन्ने भएकाे हाे ।

संघीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको उनले बताए ।

गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का संघीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे पुल निर्माणकाे याेजना पारेका हुन् । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले बताए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।

सबइन्जिनियर यादवले डिपिआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलंका टापुमा ४ हजार ५ सय घर धुरीका १० हजारबढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए । उनले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।

श्रीलंका टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ । झोलुङ्गे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए । “यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिङ्गो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ ,” उनले भने ।

जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौंदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् ।

वर्षायाममा सप्तकोशीमा पानीको बहाब बढ्ने भएकाले डुंगा यात्रा गर्दा बर्सेनि कयौंको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए । श्रीलंका टापु जोड्ने झोलुङ्गे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनकाे भनाइ छ।

Facebook Comments

Read Previous

मध्यमर्स्याङ्दीकाे विद्युत उत्पादन घट्यो, निजी क्षेत्रका विद्युतगृह पनि कम क्षमतामा चल्दै

Read Next

सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाः १०.७ किलाेमिटर सुरुङ खनियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar