तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १ हजार ४ सय ५६ मिटर लम्बाइकाे मुख्य सुरुङ खनेर सकिन लागेकाे हाे ।
अब २१० मिटर सुरुङ मात्रै खन्न बाँकी रहेकाे आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १ हजार २ सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएकाे छ ।
सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उनले बताए । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको पनि उनले बताए ।
हालसम्म आयोजनाको आर्थिक प्रगति ४२ प्रतिशत पुगेकाे छ । प्रत्येक महिना १ प्रतिशत कार्य प्रगति हुने गरेको शिल्पकारले जानकारी दिए । ३ वटा प्याकेजमा गरी दैनिक १ हजार ५ सय जना बराबरकाे जनशक्ति आयोजना निर्माणमा परिचालन गरी काम तीव्र पारिएकाे उनले बताए ।
प्रसारण लाइनकाे निर्माण सुचारु
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणकाे काम भइरहेकाे छ । तर, वन क्षेत्रकाे नीतिगत समस्याका कारण प्रसारण लाइनकाे निर्माण कार्य विगत ६ महिनादेखि ठप्प हुन पुगेकाे थियाे ।
अहिले समस्या समाधानकाे प्रयासर गरी प्रसारण लाइन निर्माण कार्य पुनः सुचारु गरिएकाे शिल्पकारले जानकारी दिए । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेकाे छ ।
प्रसारण लाइन निर्माणकाे काम भारतकाे केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेकाे छ । याे कम्पनीसँग २०७५ पुस १० प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झाैता भएकाे थियाे । कूल ३४.७ किलाेमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७० वटा टावरको जग हालिएको छ । ३४ वटा टावर खडा गरिसकिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
रकममध्ये एसियाली विकास बैंकले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।