काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको थियो । बस्ती निर्माणको योजनाअन्तर्गत केही घर बन्न बाँकी रहेका छन् भने बनेका घरले पूर्णता पाउन बाँकी छ ।
नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा एक वर्षदेखि निर्माणको काम रोकिएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार छ घर निर्माण बाँकी रहेको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको काम अलपत्र बनेको हो । बाँकी काम सक्न नगर कार्यालयले ४० लाख रूपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको हो । सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्तीको परिकल्पना गरिएको उनकाे भनाइ छ ।
नगरप्रमुख टोकबहादुर तामाङ अघिल्लो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्तीको लागि निर्णय गरिएको रकम दिन सकिने बताउछन्। यसअघि नगरले १० लाख रूपैयाँ सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरिद गरी बिल नगर कार्यालयमा पेस गरिसकिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।
निर्माण समितिका अध्यक्ष आइतमान तामाङले पटक–पटक ५४ लाख रूपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको जानकारी दिए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा २ करोड ८० लाख रूपैयाँ निकासा भएको थियो । उक्त रकमबाट एकीकृत बस्तीमा पहुँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउने योजना बनाइएको थियो । तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको थियो ।
तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न जनश्रमदान बाहेक तत्कालीन अवस्थामा करिब १३ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीयवासी निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत भरपुर साथ दिएको बताए । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो । नमुना तामाङबस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँसँगै गाउँका महिला–पुरुष जनश्रमदानमा जुट्थे।
‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको पनि एक वर्ष भइसक्यो भन्ने सुनियो’, पञ्चकुमारीले भनिन् । उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार पनि पाँच वर्ष अघिनै सोही बस्ती निर्माणमा दिएकी थिइन । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयवासीले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।
विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा १ करोड ४० लाख रूपैयाँ रकम निकासा हुँदा पनि ऋणले थलिएका तीनधारका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार पनि खर्चिइएको छ । बस्ती निर्माण कार्य योजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ ।
नमुना बस्तीमा ४० लाख रूपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने योजना बनाइएको छ ।
छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपीकल’ खाना खुवाइनेछ भने तामाङ संस्कृतिसमेत बुझाइनेछ । राजकुमार पराजुली/रासस