Nepal Purbadhar

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण


खोटाङ । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

खराब मौसमका कारण बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म सात हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका छन् ।

पर्यटक बोकेका हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताए । वि.सं. २०७६ देखि उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ । लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन ।


Read Previous

विमान्स्थल भन्सार भन्यो,‘इमर्जेन्सी लाइट,पावर बैंक,आइरन विदेशबाट नल्याउनु/नपठाउनु’

Read Next

साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला