Nepal Purbadhar

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी


काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो ।

गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७ गतेदेखि भने पुनः २४ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल एक उपसचिवको नेतृत्वमा आठ जना आवश्यक जनशक्तिसहित तीन सिफ्टमा २४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकार सेवा सञ्चालन गरिरहेका छन् । हेलो सेवाको टोल फ्री नं. ११११ मा गत भदौ १७ गतेदेखि यही असोज ४ गतेसम्म जम्मा दुई हजार छ सय ५० टेलिफोन आएको छ ।

हेलो सरकारमा टेलिफोनमात्र दैनिक सरदर एक सय ५० को सङ्ख्यामा आउने गरेको प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव प्रधुम्नप्रसाद उपाध्यायले जानकारी दिए । भाइबर, वाट्सएप, इमेल, सेलफोन, पोर्टल, फेसबुक, ट्वीटरमा आउने गुनासोको सङ्ख्यासमेत उल्लेख्य भएको बताइएको छ । भौतिकरूपमा समेत उपस्थित भई गुनासो गर्ने सङ्ख्या पनि उच्च देखिएको छ । ।


Read Previous

अरुण-३ जलविद्युत आयोजना निर्माणमा भएकाे अवरोध हटाउन सरकारलाइ इप्पानकाे ध्यानाकर्षण

Read Next

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो