काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
विहीबार एक विज्ञप्ति जारी गर्दै इप्पानले जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ । ‘आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुचारु गराउनका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौ’ विज्ञप्ति भनिएकाे छ ।
विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा स्वतन्त्र ऊर्जा उत्पादकहरूलाइ यो विषयले चिन्तित बनाएकाे छ । ‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गर्न चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ ।
विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा इप्पानले स्मरण गराएकाे छ । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा काम अघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको विज्ञप्तिमा उल्लेख छ ।