Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक नजोडिएको मनाङको नार्पाभूमि एक मात्र पालिका


मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन ।

सरकारले यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका स्थानीयवासीको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्यटकीय तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउन समेत सकिने अवस्था नरहेको बताए । उनका अनुसार नार्पाभूमिको विकासका लागि स्थानीय सरकारबाहेक अन्य सरकारको चासो पुग्न नसक्दा उपेक्षा गरिएको आभास हुने गर्छ ।

विकट क्षेत्रको विकासमा कुनै पनि सरकारको चासो नपुग्दा यहाँका स्थानीय निरास हुने गरेका छन् । नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामाले माथिल्ला सरकारले आम्दानीसँग जोडिएका क्षेत्रको विकासमा नै चासो नदिँदा उपेक्षा गरिएको महसुस हुने गरेको बताए । ‘सडक सञ्जालसँग जोडेर स्थानीयवासीको सहज यात्रा गराउने उद्देश्यसहित पटकपटक सङ्घ सरकार र प्रदेश सरकारसमक्ष माग पेस गरेँ, तर सुनुवाइ नहुँदा मेरो कार्यकाल सकियो, अझै पनि समन्वय गर्ने भूमिकामा उभिएकै छु’, उनले भने, ‘वर्तमान गाउँपालिका अध्यक्षले पालिकाले नै सडक सञ्जाल बनाउनुपर्छ भनेर सडक सञ्जाल खन्ने काम गरिरहनु भएको छ, उहाँलाई हाम्रो साथ, सहयोग छ ।’ सरकारले सहयोग नगरे पनि पालिकाले सडक सञ्जाललाई प्राथमिकता दिएर गरेको उनको भनाइ छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्साभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयास गरिरहेका जानकारी दिए । उनका अनुसार हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ ।

सडक सञ्जालबिना अन्य विकासका काम असम्भव हुने हुँदा हामीले बजेट विनियोजन गरेर पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रयास गरिरहेको उनले बताए । पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दूरी छ । पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन । अध्यक्ष लामाले भने, ‘उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन, हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ, यसैलाई विकास मान्नुपर्ने अवस्था छ ।’ ‘सम्पन्न नार्पाभूमि : प्रसन्न नार्पा जाति’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेको उनको भनाइ छ ।

चीनसँग सिमाना जोडिएको विकट यस पालिकाले यार्सागुम्बालगायतका जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएको छ । यहाँको जिम्बुलाई देशविदेशसम्म पुर्याएर यहाँको प्रवद्र्धन गर्न लागिरहेको उनको भनाइ छ । पर्यटनको सन्दर्भमा नार्पाभूमिको ‘भिलेज प्रोफाइल’ तयार भएको छ । यहाँ भएका नार्फु ट्रेयल, (सेभेन पास ट्रेयल), नार गाउँ, फु गाउँ, सत्य गुम्बा, काङ्ला पास, टासिलाकाङ गुम्बा र काङ्ला पोखरी लगायतका द पर्यटकीय तथा धार्मिक स्थानको प्रचारप्रसार गरिरहेका उनले बताए । नार्पाभूमि गाउँपालिकालाई नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

विकट क्षेत्रमा कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको उनको भनाइ छ । ‘’सेवाग्राही थोरै मात्र हुने भएकाले कर्मचारीलाई काम गर्न सजिलो हुँदा समेत कर्मचारीहरु आउन मान्दैनन्’’ उनले भने । ‘व्यवस्थित बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्नुका साथै समयसमयमा घुम्ती शिविर राखेर पनि सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य विकासका पूर्वाधारका क्षेत्रमा पनि पालिकाले प्राथमिकता दिएको छ ।

फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा रहेको छ । अहिलेसम्म त्यहाँ सीमास्तम्भ राखिएको पाइएको छैन । नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट (बिओपी) राख्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । ‘यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ, सर्वदलीय छलफलबाट बिओपी राख्ने सहमति भइसकेको छ, गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा छलफल गरेका छौँ, अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्न राज्यको पनि ध्यान जानु जरुरी छ’ उनले भने ।

भौगोलिक विकटताले गर्दा यहाँ कोहीलाई जटिल स्वास्थ्य समस्या आयो भने हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन । विपन्न वर्गलाई उपचारको पहुँचसम्म पु¥याउन पालिकाले ५० प्रतिशत छुटमा व्यवस्थापन गर्ने गरेको उहाँले जानकारी दिए । सामान्य स्वास्थ्य समस्यालाई यहाँका स्वास्थ्य चौकीमा नै औषधोपचार हुने गरेको छ ।

पर्यटकले जथाभाबी फोहोर फाल्दा नदी फोहोर भएको तीतो अनुभव रहेको अध्यक्ष लामाले सुनाए । नदी सफा गर्नेतर्फ पालिको ध्यान केन्द्रित गरेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत आउने पर्यटकलाई दोब्बर रोयल्टी तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । यहाँका हिमलुङ, चोय, जुलु पिक, जुलु फरेस्टलगायतका साना हिमाल आरोहणमा पर्यटक आउने गर्दछन् ।

त्यस्तै यहाँको पर्यटकीय क्षेत्रको रुपमा परिचित समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको काङ्ला पास, मुस्ताङ निस्कने तेरिला पास पनि यसै क्षेत्रमा पर्दछ । यस पदमार्ग हुँदै घुम्न आउने पर्यटकलाई सहज बनाउन आवश्यक छ । स्थानीय तहले सडक सञ्जाललाई विकास गर्दा पदमार्गलाई असर नगर्ने गरी सङ्घ र प्रदेश सरकारले सहयोग गरेमा यहाँको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न सकिन्छ । नवीन लामिछाने / रासस


Read Previous

काेरियन लगानीकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास

Read Next

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

Leave a Reply

Your email address will not be published.