कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षातका बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउनु पर्ने अवस्था हटेको छ । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो ।
खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दाले वर्षाका बेला निकै सास्ती खेप्दै आएका थिए । “खल्लागोठ गाउँमा बसोबास गर्ने ८५ परिवारलाई खोला तर्नकै लागि निकै सास्ती थियो”, स्थानीय भीमबहादुर महराले भने, “यस क्षेत्रकै पुरानो बस्ती र पूर्व–पश्चिम राजमार्गभन्दा झन्डै एक किलोमिटरको दूरीमा रहेको भए पनि दुर्गमजस्तै थियो, कल्भर्ट निर्माणले जीवनयापन सहज बनेको छ ।”
बालबालिकालाई विद्यालय पुर्याउन खोला तर्न अभिभावक सँगै जानुपर्ने विगतको बाध्यता हटेर गएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । “गाउँमा कोही आकस्मिकरूपमा बिरामी भए, सुत्केरी हुने महिलालाई अस्पताल पुर्याउनुपरे निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो”, जीतबहादुर महरा भन्छन् ।
खोलाको बाढीको पानी कम भएपछि खोला तरेर अस्पताल पुर्याउँथ्यौ, तुरुन्तै लैजानुपर्ने भए जोखिम मोलेर बाढी आएकै खोला तरेर अस्पताल पुग्नुपर्ने बाध्यता हटेको उनी बताउँछन् । वर्षात् सुरु हुनुअगावै बजारबाट खरिद गर्नुपर्ने खाद्यान्नलगायत सामग्रीको जोहो मिलाउनुपर्ने विगतको बाध्यता हटेर गएको छ । खल्लागोठ गाउँलाई पूर्वतर्फबाट मछेली नदी र पश्चिमतर्फबाट ओदरेखोलाले घेरेको छ ।