Nepal Purbadhar

सौर्य मिनिग्रिडबाट सुनकाेशीका १९१ घरमा विद्युत


ओखलढुङ्गा । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ घरमा विद्युत उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो । ककनीमा ६ करोड ४२ लाख ८८ हजार नौ सय ३३ रूपैयाँको लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन सुरु गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए ।

ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे । उनले आँकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत उपभोक्तालाई ऊर्जाको उच्चतम् खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए । ककनीमा विद्युत उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए ।

उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कूल ६ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ को लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।

आयोजनामा गाउँपालिकाले ६० लाख रूपैयाँ र हाउस वायरिङका लागि वडा नं–९ ले २ लाख रूपैयाँ उपलब्ध गराएको थियो । मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ ।

विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको स्थानीयवासी नरबहादुर सुनुवारले बताए । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ । रासस

Facebook Comments

Read Previous

केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख

Read Next

भविष्यको लागि बलियो नीति निर्माणको महत्वलाई जोड दिदै राष्ट्रिय नवीकरणीय ऊर्जा तथा नीति गोष्ठी सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar