काठमाडौं । ४८ वर्षदेखि समस्याग्रस्त जडिबुटी–कोटेश्वर–तीनकुने सडक निर्माणको समस्या सुल्झाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थालेका छन् ।
जडिबुटी, कोटेश्वर तीनकुने सडक खण्डमा दैनिक लाखौ नागरिकले आवज जावत गर्ने गर्छन् । विहान र साँझको समयमा अध्याधिक जामले नागरिकलाई सास्ती दिँदै आएको छ । यो समस्या सुल्झाउन सरकारले ४८ वर्षअघि पहल थालेको थियो । तर सफल हुन सकेको थिएन । दैनिक लाखौ नागरिकले सास्ती पाउनुको प्रमुख कारण हो ‘मआब्जा समस्या’ ।
२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरिएको थियो । सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तार हुन सकेको थिएन । करिव पाँच दशक लामो समस्या सुझाउन मन्त्री ज्वालाले आइतवारदेखि पहल लिएका हुन् । उनले सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरवारमा छलफल गरे ।
‘कुनैपनि देशको अबस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ, तर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिदै गर्दा जामको ताँतिले हाम्रो सडक र यातायातको चित्र देखाउँछ’, मन्त्री ज्वालाले भने, ‘यो समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि उच्च चासो देखाउनुभएको छ, अब रमिते भएर दैनिक लाखौ नागरिकको समस्या हेरिरहन सक्दैनौ ।’
जडिबुटी, कोटेश्व, तीनकुने सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्ति नै तोकेका छन् । सरोकारवाला निकायसँग समुन्वय गर्न र आवश्यक पहल कदम लिन सडक विभागका उपमहानिर्देशक बिजय जैसीलाई समन्वय व्यक्ति तोकेका हुन् । छलफल कार्यक्रममा सोही क्षेत्रका वडा अध्यक्ष नवराज पराजुलीले ४८ बर्ष लामो समस्या समाधानका लागि आफुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
छलफलमा मन्त्री ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष नवराज पराजुली सहभागी थिए ।
त्यस्तै, विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक बिजय जैसी, सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक रामहरी पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र दात्रृनिकाय जाइकाका प्रतिनिधि श्रीराम ढकालको सहभागी थिए ।
रोकिएको हुलाकी सडकको काम तत्काल नथाले तत्काल कारवाही
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गको बेतौना विराटनगर सडक खण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
विहीबार हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकेदारले काम रोकेपछि संघीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए । लगतै मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारवाही गर्न निर्देशन दिए ।
झापा, मोरङ्ग, सुनसरी र सप्तरी गरि चार जिल्ला कार्यक्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किमी खण्डमा पाँच ठेक्का लगाई निर्माण कार्यलाई तिव्रता दिएको छ । जसमध्ये २० किमी कालोपत्रे भईसकेको छ । बेतौनादेखी विराटनगर सम्मको करिव १८ किलोमिटरमा सञ्चालित दुई ठेक्काको निर्माण कार्य करिव एक महिनादेखि ठप्प रहेको छ । निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए ।
एक महिनादेखि निर्माण कार्य रोकिएपछि आयोजनाको इटहरी कार्यालयले र निर्माण सुचारु गर्न निर्माण व्यावसायीलाई लिखित पत्राचार गरिसकेको छ । समयमा निर्माणको काम सक्नेगरी तत्काल काम नथाले निर्माण ब्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका शर्त बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ ।