काठमाडाैं । संघीय सरकार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि बुधबारदेखि सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
विभागले इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जानकारी दिएकाे छ । यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४. ६५ प्रतिशतले भाडा घटेको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।
विभागको २०७८चैत १७ को निर्णयानुसार लागू गरिएको हाे । पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको मिति २०७९ असार २० को डिजेलको बजार मूल्य १७२ रूपैयाँ प्रति लिटर थियाे । जबकि २०८० जेठ २ मा त्यस मूल्यमा १७ रूपैयाँ घटी भई बजार मूल्य प्रति लिटर १५५ रूपैयाँ कायम भएको छ ।
याे मुल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ९.८८ प्रतिशतले घटी भएको हुँदा बुधबार (२०८०।०२।०३० देखि लागू हुने गरी नयाँ भाडादर कायम गरिएकाे हाे । दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन भएको हाे ।
कुन ठाउँकाे कति ?
अन्तरप्रदेश भाडा सूची