काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था औपचारिक रूपमा दर्ता गरिएको छ । सौर्य उत्पादक ऊर्जा उत्पादक संघ, नेपाल नाम राखेर दर्ता गरिएको हो । नेपालमा ग्रिड जडित सौर्य पीभी उत्पादकहरूको हितलाई अगाडि बढाउँदै नेपालमा ऊर्जा मिश्रण सुधार गर्ने प्राथमिक उद्देश्यका साथ संस्था दर्ता गरिएको हो ।
संस्थाको अध्यक्षमा डा. सन्दिप शाह, उपाध्यक्षमा नविन कुमार सिंह, महासचिव प्रविन अर्याल, कोषाध्यक्ष राजकुमार थापा रहेका छन् । त्यस्तै, ५ सदस्यहरुमा तिल बहादुर आले, स्वस्ती अर्याल, मुना शर्मा, पुजा चन्द ठाकुर र धिरजबहादुर पन्त रहेका छन् ।
नेपालले सन २०४५ सम्ममा नेट–शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ । यस लक्ष्यलाई सहयोग पुर्याउने, ऊर्जा सुरक्षामा वृद्धि गर्ने, नीति निर्माता, ग्रिड अपरेटर र ऊर्जा उत्पादकलाई एकत्रित बनाउने संघको उद्देश्य छ । अहिले नेपालमा सौर्य पीभी उत्पादन सानो क्षमता, अफ–ग्रिड र छत–माथि राख्नमा सीमित रहेको छ । तर, जलवायु परिवर्तनको अनुभवसगै सरकारले अन–ग्रिड सौर्य पीभी थप्न पहल गरिरहेको छ ।
सरकारले कुल जडित ग्रीड क्षमताको १० प्रतिशतसम्म सौर्य ऊर्जा जडान गर्ने लक्ष्य राखेको छ । अहिले ५६ मेगावाट सोलार क्षमता ग्रिडमा छ । जबकि ४० मेगावाट क्षमताको निर्माणाधीन छ र अर्को ३०० मेगावाट सोलार पीभी क्षमताको निर्माण भइरहेको छ
यस्ता छन् सोप्पान स्थापनाका उद्देश्यहरु
क) नेपालमा ऊर्जा मिश्रणमा सौर्य उत्पादन बढाउनका लागि पैरवी गर्ने ।
ख) सौर्य प्रविधि र यसको ग्रिड एकीकरणमा ज्ञान वृद्धि गर्ने ।
ग) रन अफ रिभर हाइड्रो र सौर्य उत्पादनको पूरकता स्थापना गर्ने र ग्रिड बिजुली आपूर्तिको गुणस्तर र विश्वसनीयता सुधार गर्ने ।
घ) सौर्य पीभी उत्पादन ट्यारिफको लागि प्रमाणमा आधारित, यथार्थवादी मूल्य निर्धारण गर्ने ।
ङ) सौर्य रूफटप र विकेन्द्रीकृत उत्पादनको विकास गर्ने ।
च) उच्च खपत हुने बेलमा स्थानान्तरण, ग्रिड स्थिरता र सहायक सेवाहरूको लागि ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने ।
छ) सौर्य उत्पादनको पहुँच बढाउन अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने ।
ज) नेपालमा सौर्य पीभीको विकासमा बाधाहरू हटाउन समर्थन प्राप्त गर्ने ।
झ) सौर्य तथा अन्य सम्बन्धित अनुसन्धान, तालिम, सेमिनार र कार्यशालाहरू सञ्चालन गर्ने
ञ) सौर्य पीभी उत्पादनको लागि बजार मूल्यांकन र बजार सिर्जना गर्ने ।