वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ ।
निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो ।
त्यसैगरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एकसङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए ।
निकुञ्जले निर्माण गरेको कृतिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरुको सङ्ख्या वृद्धि भएको उनले बताए ।
करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाईं र गौरीगाईं जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ ।
निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विसं २०४० मा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो ।