Nepal Purbadhar

भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भारतीय गाडीको नेपालमा निर्वाध प्रवेश रोक्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद नेपालीले पछिल्लो समय नेपाल भित्रिने भारतीय गाडी संख्या दिनप्रतिदिन बढ्दै गएकाले निर्वाध प्रवेश रोक्न माग गरेका हुन्।

भारतीय गाडीले उतैबाट सामान लोड गरेर ल्याउने र नेपालका जुनसुकै स्थानमा निर्वाध रुपमा ढुवानी गर्ने हुँदा नेपालमा रहेका झन्डैै ७० हजार ढुवानी गाडी थन्किने अवस्थामा पुगेको उनले दाबी गरे। यसले गर्दा ४० प्रतिशत गाडी काम नपाएर थन्किएको उनले तथ्यांक प्रस्तुत गरे। भारतीय गाडीलाई ७२ घन्टे पुर्जी जारी गर्दा नेपाली व्यवसायी मर्कामा परेको उनको भनाइ छ।

नेपालीले भारतीय गाडी भन्सार नाकामा अनलोड हुने व्यवस्था मिलाउन तत्काल कूटनीतिक पहल गरेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । १ वर्षे अवधिमा वीरगञ्ज नाकाबाट मात्रै ९३ हजार भारतीय सवारी साधन भित्रिएको तथ्यांक छ। देशभरमा हेर्ने हो भने यो संख्या २ लाख बढी रहेको छ।

यसरी हेर्दा एउटा गाडीले ६० हजार मात्रै भाडा लिए पनि झन्डै ४ अर्ब २० करोड बढी रुपैयाँ भारतीय गाडीले भारत पु¥याइरहेका छन्। भारतीय गाडीलाई नियमन गरे रकम विदेशिनबाट जोगिने र यसले व्यापार घाटामा केही कमी हुन जाने दाबी उनले गरे।

नेपालमा दर्ता भएका भाडाका सवारी साधनले साढे २ प्रतिशत लाग्ने गरेको छ। भारतीय गाडी निर्वाध सामग्री लिएर भित्रिँदा यसबाट राजस्वमा ठूलो चुहावट भइरहेकाले सरकारले ध्यान दिनुपर्ने उनको माग छ।


Read Previous

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

Read Next

क्रसर व्यवसायीलाई कानून सम्मत सहयोग हुन्छ : मन्त्री मोदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar