सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । भौतिक पूर्वाधार तथा यातायातसँगको सहकार्यमा माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलन मूख्यगरी एकिकृत यातायात पूर्वाधार विकासः यसका विषय र आगामी बाटोमा केन्द्रित हुने गरी तयारी गरिएको छ । यसै सन्र्दभमा सम्मेलनको तयारी, उद्देश्य, यातायात क्षेत्रको अवस्था र नीतिगत सुधारजस्ता विषमया केन्द्रित भइ नेपाल पूर्वाधार डटकमका भीम गौतमले सोटेनका अध्यक्ष पदम बहादुर शाहीसँग गरेको कुराकानीको सार :
सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले सबै प्रकारका यातायातको एकिकृत र दीगो विकासमा केन्द्रित भएर दोस्रो सम्मेलन गर्दैछ । सम्मेलनमा के के हुनेछ ? के उद्देश्य राखिएको छ ? तयारी कहाँ पुग्यो ?
तयारी लगभग सम्पन्न हुने अवस्थामा छ । अन्तिम तयारी भइरहेको छ । यस सम्मेलनको मूख्य उद्देश्य भनेको यातायात क्षेत्रमा अभ्यास गरिरहेका, अध्ययन गरिरहेका, बौद्धिक र अनुसन्धानमा लागेकालाई व्यक्तिहरु सहभागी हुनेछन् । सम्मेलनमा नेपालको यातायात क्षेत्रमा रहेका विषय र उल्झनहरुबारे छलफल हुनेछ । संसारभर अभ्यासरत राम्रा उदाहरणलाई प्रस्तुत गरिनेछ । यातायात क्षेत्रमा केन्द्रित भएर यसका समस्यालाई उजागर गरिनेछ । ज्ञानको आदानप्रदान हुनेछ ।
सम्मेलनमा को को सहभागी हुनेछन् ? के विषयमा प्रस्तुत हुनेछन ?
दुई दिनसम्म चल्ने यस सम्मेलनमा ६ वटा प्राविधिक सेसनहरु रहेका छन् । ती प्रत्येक सेसनको फरकफरक थिममा आधारित रहेको छ । हवाइ, रेल, सडक र पानीमार्फत हुने यातायातको एकिकृत ढाँचा र पहुँच, सहरी यातायात पूर्वाधार र सेवा सुधार, एकिकृत यातायात सञ्चालनको लागि विकास गर्नुपर्ने नीतिगत तयारीमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
त्यस्तै, विद्युतीय सवारीमा भएको उत्तम अभ्यासहरु, नन मोटराइज्ड यातायात, सार्वजनिक यातायात सुधार, यातायात पूर्वाधार विकासमा लगानी, अन्तरदेशीय यातायात र अन्तर्राष्ट्रिय व्यापार, यातायात सुरक्षा, सामान ढुवानी, यातायात पर्यटन, सहरी र क्षेत्रीय यातायात योजनालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
सम्मेलनमा यातायात क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा चिनिएका व्यक्तित्वहरुको सहभागीता हुनेछ । सम्मेलनमा भारत, श्रीलंका, थाइल्याण्ड, चीन, जापान, कोरियालगायतका देशबाट आफ्नो क्षेत्रमा चिनिएका व्यक्तिहरुको सहभागिता हुदैछन् ।
सोटेनले यति ठूलो सम्मेलन गर्ने तयारी कसरी गरियो ? कहाँबाट यो सोच थालियो ?
एक वर्षदेखि नै हामीले तयारी गरिरहेका थियौं । यसमा मूख्यगरी दुई वटा भागहरु रहेका छन् । अहिले प्रविधिको विकास र विश्वव्यापीकरणको कारण विश्व नजिकिइ सक्यो । यसको कारण विश्वसँग सम्पर्क र सम्बन्ध सहज भएको छ । यसले पनि यो सम्मेलन आयोजना गर्नको लागि सहयोग पुग्यो ।
दोस्रो भनेको यो सम्मेलन आयोजनाको लागि मेहनत गर्यो । हामीसँग भएका सम्बन्ध र सम्पर्कको सदुपयोग गर्यो । बाहिर हामीलाई बोलाउँदा जाने गरेको थियौं । अहिले हामीले बोलाएका छौं । तर, हामीसँग वित्तीय रुपमा भने कमजोर हुँदा समस्या भने देखिएको छ ।
यसको लागि सरकारले पनि व्यवसायिक संस्थाहरुलाई सहयोग रह्यो भने यस्ता सम्मेलन गर्न सहज हुनेछ । यस्ता सम्मेलन गर्न आवश्यक पनि छ । उही विषयमा संसारभर के भइरहेको छ, कसरी समाधान गरिएको छ जस्ता विषय बुझ्न र प्रयोगमा ल्याउन यस्ता सम्मेलनले सहयोग पुर्याउँछ ।
नेपालमा यातायात व्यवस्थापनको अवस्था कस्तो छ ? के समस्या छन ?
यो सम्मेलनको मूल्य थिम नै ‘इण्टिग्रेटेड ट्रान्सपोर्ट फर सस्टेनेवल मोबिलीटी’ छ । एकिकृत यातायात भन्ने वित्तिकै योजना तर्जुमा गर्ने बेला विषय उठ्ने भयो । उदाहरणको लागि जल, रेल, सडक, हवाइ यातायातको एकिकृत रुपमा योजना बनाउनुपर्यो । छुट्टाछुटै जाने हो भने त्यो सफल हुन सक्दैन । किनकि लगानी, जनशक्ति, व्यवस्थापनजस्ता विषय आउँछन् । यसकारण योजना बनाउँदा सबैलाई एकिकृत गर्ने गरी समेटेर बनाउनुपर्ने विषय महत्वपूर्ण छ ।
योजना निर्माण पछि कार्यान्वयनमा पनि एकिकृत र सबैलाई समेटेर अघि बढ्नुपर्छ । होइन भने एकै ठाउँमा रेल पनि बनाउने, सडक पनि समानान्तर रुपमा बनाउने, कुनै ठाउँमा भने केही पनि नबनाउने गर्यो भने त्यसले अन्तत समस्या ल्याउँछ । यी विषयलाई यो सम्मेलनले उठाउनेछ ।
अर्को विषय भनेको दीगो विकास हो । यसमा वातावरणीय पक्ष, आर्थिक पक्ष, सामाजिक पक्ष, सास्कृतिक पक्षलाई लिएर पूर्वाधार बनाउनुपर्ने विषयमा पनि सचेत र योजनाबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । उदाहरणको लागि जीवाष्म वा पेट्रोलियम पदार्थको प्रयोगबाट अहिले विद्युतीय यातायातको प्रयोग पनि एउटा दीगो प्रयोगको बाटो हो । यस्ता विषयमा केन्द्रित हुनेछौं ।
नेपालमा यातायात क्षेत्र व्यवस्थापन लामो समयदेखि एउटा प्रमुख चुनौतिको रुपमा रहिआएको छ । यो क्षेत्र अव्यवस्थित हुनुको प्रमुख कारण के हुन् ? कसरी समाधान गर्ने ?
यातायात आफैमा सार्वजनिक र महत्वपूर्ण क्षेत्रमध्येमा एक हो । यस क्षेत्रलाई हाम्रो समाजले कत्तिको प्राथमिकता दिएको छ । सरकार कत्तिको संवेदनशील छ भन्ने विषय महत्वपूर्ण हुन्छ । नियम, कानूनले कसरी समाधान गर्ने भन्ने विषय महत्वपूर्ण छ । यो क्षेत्रमा समस्या छ भन्ने तर केही कदम नचाल्ने हो भने सुधार आउदैन । अहिले निजी क्षेत्रले सार्वजनिक यातायात सञ्चालन गरिरहेको छ । यसमा सरकारको पनि केही थालनी हुनुपर्ने थियो । तर छैन् । कुनै थालनी नभएपछि समस्या थुप्रिएका छन्, सुधार गर्नुपर्ने धेरै विषय छन् ।
अहिलेको कानूनी व्यवस्था कत्तिको पर्याप्त छ ? के सुधार गर्नुपर्छ ?
अहिलेको कानूनी व्यवस्था पर्याप्त छैन । भएका कानूनको पनि प्रभावकारी कार्यान्वयन भएको छैन् । तर, त्यो भन्दा पनि गम्भिर विषय भनेको यातायात क्षेत्रमा एकिकृत (इण्टिग्रेशन) प्रणाली छैन । वाहिर एक ठाउँमा रकम बुझाएपछि अन्तिम गन्तव्यसम्म सहजै पुग्न सकिन्छ । तर, नेपालमा त्यो सम्भवन छैन् । अर्कोतर्फ बस कति खेर आउँछ भन्ने कुनै ग्यारेण्टी छैन् । एक किसिमको अस्तव्यस्त अवस्था छ । यसको साथै धेरै कानूनी सुधार आवश्यक छ ।
सुधारको लागि सोटेनले के भुमिका खेलिरहेको छ ?
हामी एउटा व्यवसायिक संस्था हो, हामीले समस्याहरुलाई उठाउने र त्यसको समाधानबारे बोल्ने, लेख्ने र सुझाव दिने हो । यी विषयलाई नीतिनिर्माता, जनप्रतिनिधी र कार्यान्वयन गर्ने पक्षले ध्यान दिएर काम गर्दा समस्या सल्टिदै जान्छ ।
नेपालमा वार्षिक सडक दुर्घटनामा परेर ८ हजारभन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । यो संख्या ठूलो मात्र होइन, आर्थिक क्षतिको कुनै सिमा छैन । अर्कोतर्फ उत्पादनशील जनशक्तिको क्षय भइरहकोे छ । यसलाई न्यूनीकरण गर्ने विषयमा सोटेनजस्ता संस्थाले लिने पहल महत्वपूर्ण हुन्छ । तपाईहरुले यो विषयलाई लिएर के गरिरहनुभएको छ ?
अवश्य पनि, हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई एउटा कारणले गर्दा वा दुईटा कारणले गर्दा यस्तो भयो भन्न मिल्दैन । यो हाम्रो समाज, व्यवहारदेखि कानूनसम्मको विषय जोडिएर आउँछ । भोली एउटा सुधार वा कानून ल्यायो भने पनि त्यसले यसलाई ठूलो परिवर्तन ल्याउन सक्दैन् । यो विषय एउटाले मात्र गरेर पनि हुदैन । यो समन्वयको विषय हो । धेरै निकाय र सरोकारवालाको एकिकृत पहलले मात्र यसमा अपेक्षित सुधार ल्याउन सकिन्छ ।
सबै निकायलाई एकै ठाउँमा ल्याउने सडक सुरक्षा परिषद् हुन्छ । त्यसले सबै सरकारी संस्थालाई समन्वय गर्छ । सबैलाई निर्देशन दिन सक्ने र त्यसअनुसार काम गर्ने वातावरण भयो भने धेरै नै सुधार ल्याउन सकिन्छ । अहिलेको अवस्था जति लामो समय रहन्छ हाम्रो सुधार पनि उत्तिनै ढिला हुने देखिन्छ ।
संयुक्त राष्ट्र संघले राखेको जति दुर्घटना भइरहेको छ त्यसलाई आधा बनाउने लक्ष्य नेपालले पूरा गर्न सक्ला ?
त्यो लक्ष्य प्राप्त हुन सक्दैन । नेपालले २०३० सम्ममा आधा घटाउने भनेर प्रतिवद्धता गरेपनि त्यो सम्भव देखिदैन् । एक दिन, एउटा निकायको प्रयासले यो उपलब्धी हासिल हुने होइन् । यातायात र अर्थतन्त्रको सम्बन्ध छ । त्यो दृष्टिकोणबाट पनि हेरिनुपर्छ । सडक दुर्घटना न्यूनीकरणको लागि लगानी भएको छैन्, सडक दुर्घटना हेर्ने, ट्राफिक व्यवस्थापन गर्ने निकाय नै छैनन् ।
कुनै दुर्घटना हुँदा माथिल्लो तहमा रहेका राजनीतिज्ञ वा कर्मचारीले पनि ठूलो चिन्ता गरेको देखिन्छ । तर, त्यही चिन्तामै सिमित छ । यसमा ठोस कदम चाल्न किन नसकिएको हो ? विज्ञहरुले बुझाउन पो नसकेका हुन कि ?
यसमा समग्र प्रणालीलाई हेर्नुपर्छ । हामीले भनेको वा उठाएको विषयलाई राज्यको निकायले कति गम्भिरतापूर्वक लिन्छ वा वास्ता नै गर्दैन भन्ने विषय मिहिन रुपमा अध्ययन गर्नुपर्छ । वास्ता नै नगर्ने अवस्था चाँही विद्यमान छ । अर्को कुरो, कुनै दुर्घटना भयो भने व्यक्तिले चिन्ता गर्ने होइन, प्रणाली नै चिन्तित हुने अवस्था नल्याई न्यूनीकरण कठिन छ ।
यस्तैमा बसिरहने कि कुनै सुधार थाल्ने त ?
अहिले नयाँ सरकार गठन भएको छ । मन्त्रालयले यातायात व्यवस्थापन र सञ्चालनको विषयमा केन्द्रित गरि समिति पनि गठन गरेको छ । आशा गरौं काम होस् ।