काठमाडाैं । संखुवासभामा पहिचान भएकाे ४५४ मेगावाटकाे किमाथाङ्का अरुण अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सम्बन्धित सराेकारवालासँग राय तथा सुझाव मागिएकाे छ । संखुवासभाकाे अरुण नदी बेसिनकाे याे आयाेजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा ७ दिनभित्र प्राप्त हुने गरी लिखित राय तथा सुझाव पेश गर्न आग्रह गरिएकाे हाे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत उत्पादन कम्पनीले अर्धजलाश प्रकृतिको याे आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न अध्धयन प्रक्रिया अगाडि बढाएको हाे । कम्पनीले सूचना सार्वजनिक गरी साे क्षेत्रकाे प्राकृतिक भाैतिक,भाैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक प्रणालीमा पर्नसक्ने प्रभावबारे लिखित सुझाव पठाउन भनेकाे हाे ।
सम्बन्धित स्थानीय सराेकारवालाले दिएकाे राय तथा सुझावका आधारमा कम्पनीले आयाेजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नेछ । नेपाल विद्युत प्राधिकरणको सहायक एनइए इञ्जिनियरिङ कम्पनीले परामर्शदाताकाेरूपमा आयोजनाको अध्ययन गरिरहेकाे छ । याे आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा पर्दछ ।
अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक रहेकाे अध्ययनले देखाएकाे छ । भोटखोला एउटै वडाभित्रमात्रै संरचना रहने गरी पहिचान भएकाे याे आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ । विशेष गरी सुख्खा यामकाे विद्युत माग व्यवस्थापन गर्ने उद्देश्यले याे आयाेजना निर्माण गर्न लागिएकाे हाे ।
कम्पनीका अनुसार अरुण नदीमा १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो आयोजनाकाे बाँध निर्माण हुनेछ । बाँध क्षेत्रमा ०.३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अर्धजलाशय निर्माण गर्ने गरी आयोजनाकाे डिजाइन गरिएकाे छ ।
अध्ययनअनुसार आयोजनाकाे अर्धजलाशय १ सय ३ लाख घनमिटर क्षमताको हुनेछ । भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट ५ सय मिटर तल पुङमुछीमा आयोजनाकाे विद्युतगृह निर्माण हुनेछ । आयोजनाका लागि ८ मिटर व्यास भएको ५.९१८ किलाेमिटर लामो भूमिगत मुख्य सुरुङ निर्माण हुनेछ ।
पानीको डिजाइन बहाव १ सय ४३ घनमिटर प्रतिसेकेण्ड तथा ३७९.५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक २ हजार ६ सय ५५ गिगवाट घण्टा विद्युत उत्पादन हुनेछ ।
आयोजनाकाे विद्युतगृह भूमिगत रहने गरी डिजाइन गरिएकाे छ । विद्युतगृहमा ४ वटा उत्पादन युनिट जडान गरी विद्युत उत्पादन गरिनेछ । विद्युतगृहबाट विद्युत उत्पादन भइ निस्कने पानी पुनः अरुण नदीमा पठाउन ७५१.०५ मिटर लामाे रेलरेस सुरुङ निर्माण गरिने कम्पनीले जनाएकाे छ ।
आयोजनाकाे संरचना स्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्नेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् ।
अरुण नदीमा नै हाल भारत सरकारकाे स्वामित्वमा रहेकाे सतलज विद्युत निगमले ९ सय मेगावाटकाे अरुण–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सतलजले नै तल्लो अरुण निर्माण गर्न अनुमति लिएकाे छ । नेपाल विद्युत प्राधिकरणसँग मिलेर अरुण–४ जलविद्युत आयाेजनामा लगानी गर्ने सहमति भएकाे छ ।
यस्तै, विद्युत प्राधिकरणले नै १ हजार ६१ मेगावाटकाे माथिल्लो अरुण अर्धजलाशय आयाेजना निर्माण गर्दैछ । प्राधिकरणले याे आयोजना निर्माण गर्न सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ ।