Nepal Purbadhar

वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 


वीरगञ्ज । पर्सा जिल्लाकाे वीरगञ्ज महानगरपालिकाले महानगरबासीलाई ३० युनिट विद्युत निशुल्क दिने भएकाे छ । महानगरपालिकाले अधिकतम ३० युनिट विद्युत खपत गर्ने नगरबासीकाे सम्पूर्ण महसुल तिरिदिएर सहुलियत दिने भएकाे हाे ।

वीरगञ्जबासीलाई विद्युत महसुलमा सहुलियत दिन नेपाल विद्युत प्राधिकरणकाे वीरगञ्ज र सिमरा वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरिसकेकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार प्राधिकरणसँगकाे सम्झौता पुस महिनादेखि नै लागु भइसकेकाे छ ।

सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु ग्राहकको विद्युत महसुलमा शतप्रतिशत छुट दिँदै आएकाे छ । महानगरपालिकाले स्थानीयबासीले खपत गर्ने थप १० युनिट विद्युतकाे महसुल प्राधिकरणलाई तिरिदिने भएकाे हाे ।

प्राधिकरणसँगकाे सम्झाैता अनुसार महानगरले प्रतिपरिवारकाे प्रतियुनिट ६.५० रुपैयाँ दरले ६५ रुपैयाँ विद्युत महसुल तथा ५० रुपैयाँ न्युनतम शुल्क गरी प्रति घरधुरी ११५ रुपैयाँ मासिकरूपमा तिरिदिनेछ ।

महानगरले पहिले पनि घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार ९ सय २४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क एवं कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण विद्युत महसुल बापतकाे शुल्क भुक्तानीको दायित्व बेहाेर्दै आएकाे थियाे ।

महसुल भुक्तानीका लागि  विद्युत प्राधिकरणको खातामा महानगरले अग्रिम भुक्तानी गर्ने र प्राधिकरणले हरेक महिना रिबेटसहित फर्छ्याेट गर्ने सम्झौतामा उल्लेख छ । चालू आर्थिक वर्षको बजेटमा विद्युत प्राधिकरणलाई बुझाउने रकम व्यवस्था गरिएकाले महानगरपालिकाले नियमितरुपमा ३० युनिटसम्मको ग्राहकको रकम भुक्तानी गरिदिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

वीरगञ्ज महानगरपालिकालाई न्यूनतम विद्युत शुल्कमा वार्षिक १ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पौडेलका अनुसार वीरगञ्ज र सिमरा वितरण केन्द्रमा गरी घरेलु तथा कृषि प्रयोगमा हुने विद्युत महसुल मासिक  ८ देखि १० लाख रुपैयाँ महानगरले प्राधिकरणलाई भुक्तानी गर्नेछ ।

सुविधा प्राप्त गर्न लक्षित ग्राहकले सम्झौता लागू हुनुपूर्वको बक्यौता विद्युत महसुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ । यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका सात हजार आठ सय २२ लाभग्राही र चार सय ३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुने अनुमान गरिएको छ ।

सो कार्यका लागि महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पौडेल तथा प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


Read Previous

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

Read Next

किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग