काठमाडौं । नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तराष्ट्रिय बजार विश्लेशण उपकरणहरूको बारेमा प्रशिक्षकको रूपमा विकास गर्ने युरोपियन यूनियनले पाँच दिन लामो विशेष कार्यशाला आयोजना गरेको छ ।
कार्यशालाबाट २० जना प्रशिक्षकको रूपमा अन्तराष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएका छन् । यस कार्यशालाले अन्तराष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाइ प्रशिक्षकहरू तयार गरेको छ जसले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरूमा सल्लाहकारको रूपमा आफ्नो विज्ञताहरू प्रयोग गरी ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यूरोपियन यूनियनको सहयोगमा संचालन भैरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तराष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो कार्यशाला आयोजना गरेको हो ।
सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइ रहेको र सन् २०१७ मा विश्व व्पापार संगठनको व्यापार सहजीकरण सम्झौताबाट अधिकतम लाभ लिनको लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थामा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।
यस कार्यशालाले प्रमाणीकृत प्रशिक्षकहरूको सक्रिय संजाल निर्माण गरी ‘ट्रेड म्याप एण्ड मार्केट एक्सेस म्याप’ सम्बन्धी ज्ञान विस्तार गर्न सहयोग पुग्ने छ । प्रशिक्षकहरू निर्माण गर्ने क्रममा अन्तराष्ट्रिय व्यापार केन्द्रका विज्ञहरूले अन्तरक्रिया र प्रयोगात्मक कार्यमा आधारित तालिम विधिहरू प्रयोग गरी प्रशिक्षार्थीहरूलाई प्रस्तुतिको अवसर प्रदान गरेका थिए ।
प्रशिक्षार्थीहरूले यस कार्यशालाबाट अन्तराष्ट्रिय व्यापारका विभिन्न पक्षहरूका बारेमा जनाकारी लिनेमात्र नभै आगामी दिनमा आफूले सिकेको ज्ञान शिक्षण अनुसन्धान तथा नीतिनिर्माण तहमा उपयोग गर्ने योजना रहेको बताए ।
त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह प्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नविनतम उपकरणहरूको प्रयोग बारे जानकारी पाउने ठूलो अवसर भएको बताउँदै आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा आफू रहेको बताए ।
त्यसैगरी अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको वेला यस्ता व्यापार उपकरणहरूबारे प्रशिक्षक निर्माण गराउन यो कार्यशाला उपयोगी भएको बताउँदै आफ्नो ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।