काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतकाे आन्तरिक बजार विस्तार गरी खपत बढाउन मधेश प्रदेशमा करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० सम्मकाे लक्ष्य निर्धारण गरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लामा प्रसारण सञ्जाल विस्तार गर्न लागेकाे हाे ।
विशेष गरी प्रदेशकाे दक्षिणी भेगकाे मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यानमा राखी उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्ने प्राधिकरणकाे याेजना छ । याेजनाअनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरू निर्माण गरिने छन् ।
चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभी क्षमतामा सञ्चालनमा ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ ।
अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने काम भइरहेको छ । बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२ सय मेगावाट र जनकपुर क्षेत्रमा ८ सय मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने घिसिङले बताए ।
विद्युतीय पूर्वाधार निर्माण हुँदा प्रदेशकाे सहरी क्षेत्र र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएकाे छ ।
याे प्रदेशका विभिन्न जिल्लामा प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्नेछ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने घिसिङले बताए ।
कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।
घिसिङले आन्तरिक विद्युत खपत बढाउन र बढी भएकाे विद्युत भारतर्फ निर्यातका लागि दक्षिण काेरिडोर प्रसारण लाइन चरणबद्ध रूपमा निर्माण गर्न लागिएको बताए । ‘पहिलो चरणमा विद्युत खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरूकाे निर्माण प्राधिकरणले गर्नेछ । दोस्रो चरणमा दक्षिण काेरिडोरमा मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, उनले भने, ‘केही प्रसारण लाइन तथा सबस्टेसनहरू निर्माण भइरहेका छन् । केही तत्काल सुरु हुँदैछन् ।’
उनले अन्य सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेकाे जानकारी दिए । उनले यस क्षेत्रमा प्रसारण सञ्जाल बनेपछि भारतको बिहार राज्यका मोतिहारी, सीतामणि, जयनगरलगायत नाकाबाट विद्युत निर्यात गर्न सकिने बताए ।
बारा–पर्सा औद्योगिक काेरिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको उनले बताए । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रूपमा जनकपुरतिर विस्तार गरिने छ । बाराकाे प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।
जनकपुर क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसन निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।