Nepal Purbadhar

७ हजार ८ सय मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन आफैं गर्दै विभाग


काठमाडौं । विद्युत विकास विभागले ७ हजार ८ सय १३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । विभागले विभिन्न क्षमताका २५ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको हो ।

अहिले १ सय मेगावाट माथिका एक दर्जन जलविद्युत आयोजनाको अध्ययन भइरहेको विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बताए । उनका अनुसार अध्ययनको चरणमा रहेका सय मेगावाट माथिका आयोजनाको जडित ७ हजार २ सय २४ मेगावाट छ ।

‘विभागले विद्युत आयोजनाको अनुमतिपत्र दिनुका साथै आफैंले अध्ययन पनि गरिरहेको छ,’ उनले भने, ‘अधिकांश जलविद्युत आयोजना अध्ययनको अन्तिम चरणमा पुगेका छन् । केही जलविद्युत आयोजना मध्यम चरणको अध्ययनमा छन् ।’ उनले विभाग अन्तर्गत सबैभन्दा ठूलो १ हजार ७ सय २० मेगावाटको खिम्ती ठोसे शिवालय जलविद्युत आयोजनाको अध्ययन भइरहेको बताए ।

रामेछाप र दोलखाको सीमामा पर्ने यो आयोजनामा बंगालादेशले लगानी गर्ने इच्छा देखाएको छ । काभ्रे, सिन्धुली र रामेछाप जिल्ला छुने ९ सय ७८ मेगावाटको सुनकोसी–२ जलविद्युत आयोजनाको पनि विभागले नै अध्ययन गरिरहेको छ ।

यस्तै, पर्वत र बागलुङमा पर्ने कालीगण्डकी बहुउद्देश्य आयोजना अध्ययनको चरणमा छ । कालीगण्डकी नदी बेसिनमा पहिचान भएको याे आयोजनाको जडित क्षमता ८ सय ४४ मेगावाट छ ।

यसैगरी, ६ सय ८३ मेगावाटको सुनकोसी–३, ५ सय १२ मेगावाटको बुरबाङ, ३ सय १ मेगावाटको सेती खोला–६, १ सय १० मेगावाटको कोखाजोर, ९ सय १६ मेगावाटको हुम्ला कर्णाली, ४ सय ७७ मेगावाटको कालीगण्डकी–२, ३ सय ५० मेगावाटको तल्लो बडीगाड जलाशय, १ सय १५ मेगावाटको मुगु कर्णाली, २ सय १८ मेगावाटको नौमुरे जलाशय जलविद्युत आयोजना अध्ययनको चरणमा छन् ।

यी मध्ये सुनकोसी-३ आयोजनामा पनि बंगालादेशले लगानी गर्ने तय भएको छ । सय मेगावाट मुनिका १३ जलविद्युत आयोजना विभाग अन्तर्गत अध्ययनको चरणमा रहेको चटौतले जानकारी दिए । अध्ययनको चरणमा रहेका सय मेगावाट मुनिका जलविद्युत आयोजनाको जडित क्षमता ५ सय ८९ मेगावाट छ ।

८४ मेगावाटको कन्काई बहुउद्देश्यीय, ६२ मेगावाटको माथिल्लो चमेलिया, ६२ मेगावाटको हुम्ला कर्णाली, ६० मेगावटको यान्मा खोला, २५ मेगावाटको मध्य इन्खु, १६ मेगावाटको कवाडी खोला–१, ६(७ मेगावाटको हिम खोला आयोजना अध्ययनकाे विभिन्न चरणमा छन् । विभागका अनुसार ८० मेगावाटको डाँडागाउँ खलंगाा भेरी, ४३ मेगावाटको टोम डोगर (बूढीगण्डकी), ४३ मेगावाटको तिला, ४१ मेगावाटको मर्स्याङ्दी–३, ३४ मेगावाटको सुपर बूढीगण्डकी र ३२ मेगावाटको माथिल्लो होंगु जलविद्युत आयोजनाको पनि अध्ययन भइरहेको छ ।


Read Previous

बुढीगण्डकी प्रभावितको मत पाउन उम्मेदवारले १५ प्रतिवद्धता गर्नुपर्ने

Read Next

चुनावमा मात्र प्राथमिकता पाउने डाँडापारीवासीको त्यो अधुरो विकास चाहाना