Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

कमला सिँचाइ नहरबाट खेतमा सिँचाइ सुविधा पुगेपछि किसानलाई राहत


जनकपुरधाम । धनुषा सबैलाका किसान श्यामदेव यादवलाई याे वर्ष धानखेतीकाे समयमा सिँचाइको खासै समस्या भएन । बिगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उनलाई यस वर्ष धेरै वर्षा नभए पनि खेतमै सिँचाइ सुविधा पुगेपछि धानखेतीका लागि चाहिने पानीकाे समस्या भएन ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत यस क्षेत्रमा सिँचाइ सुविधा पुर्याएपछि किसान यादवले वर्षेनि धानबाली लगाउने बेलामा भोग्दै आएको पानीकाे समस्याबाट छुट्कारा पाएका हुन् ।

“अघिल्ला वर्षहरूमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो”, उनले भने, “तर, यसपालि कुलोमा समयमै पानी आयो । त्यसैले, समयमै धान खेती गर्न भ्याइयो ।” उनले पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या  नभएकाे बताए ।

विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताए । “सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला  कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो । कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, उनले भने, “तर यसपालि कुलोमा पानी आएपछि सहजरूपमा सिँचाइ गर्न पाएँ ।”

अब खेतीका लागि सिँचाइकाे समस्या नहुने विश्वास उनले व्यक्त गरे । “केही वर्षअघि सम्म गाउँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । यसका कारण समयमा वर्षाको भएको वर्षमा राम्रो धान खेती हुन्थ्यो । वर्षा नहुँदा अधिकांश खेत बाँझो नै रहन्थ्यो । तर, पूर्वी नहरमार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ ।”उनले भने ।

बिगतका वर्षहरूमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत खेतमा पानी पुगेको हो ।

सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा धनुषा र सिरहातर्फ करिब छ किलोमिटर पक्की नहर निर्माण गरेको छ । सो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भिआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

यस्तै, सो अवधिमा धनुषा, सिरहा, सप्तरी र सिरहामा गरी चार जिल्लामा ३३ वटा डिप ट्युबेल जडानसँगै ५४ वटा डिप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताए ।  प्रमुख यादवका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सिरहाको औरहीमा एउटा साइफन, सिरहाकै विष्णुपुरस्थित हनुमान चोकमा एउटा स्केप र सिरहाको अर्नमा गाउँपालिकास्थित मैनाबती खोलामा दुई वटा हेडवक (पक्की बाँध) समेत निर्माण गरिएको छ ।

कमला सिँचाइ पश्चिमी नहर प्रणालीअन्तर्गत धनुषाको पूर्वी नहर प्रणाली, पश्चिमी नहर प्रणाली र हर्दिनाथ सिँचाइ प्रणालीमा करिब १० किलोमिटर सडकमा ग्राभेल गरिएको प्रमुख यादवको भनाइ छ । सिरहाको औरही शाखामा दुई वटा ड्रप स्टेक्चर निर्माणसँगै ४१ किलोमिटर नहरमा सरसफाइ गरिएको छ ।

आव २०७८/७९ मा छ सय आठ मिटर क्षेत्रफलमा नहर तथा संरचना संरक्षण कार्य गरिएको, २८ स्थानमा आउटलेट र आठ स्थानमा इनलेट निर्माण कार्य गरिएको उनले बताए ।

उक्त कर्यालयद्वारा निर्माण गरिएको सिँचाइ संरचनाका कारण आव २०७८/७९ मा धनुषा, सिरहा, सप्तरी, महोत्तरीमा करिब १ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवले जानकारी दिए । कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदैआएको छ ।


Read Previous

ट्र्याक खुलेकाे २३ वर्षपछि रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्र

Read Next

विश्वकै ठूलो ब्याट्री स्टाेरेज आयोजना सञ्चालनमा

Leave a Reply

Your email address will not be published.