Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’


कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ ।

विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । राजमार्ग जोडिएपश्चात कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ । यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगञ्ज बुटवल, चितवनलगायतका सहरसहित राजधानी काठमाडौँसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ ।

यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवातजावतले नयाँ ठाउँहरू बजार बनेका छन् । खुद्रे पसल थोक बिक्रेतामा रुपान्तरण भएका छन् । पैदलयात्रा गरिँदाका सङ्गमस्थल अपरिचित ठाउँमा परिणत भएका छन् । हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ ।

आधुनिकताले सडक छेउमात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ । हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्त्वाकाङ्क्षा जगाएको छ । आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भिरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन् ।

सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई सफलता मिले पनि धेरैले सास्ती भोग्नुपरेको छ । कर्णाली राजमार्गअन्र्तगत विशेषगरी कालीकोट र दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरु बाढी र पहिरोको उच्च जोखिममा छन् ।

कमाउने रहरले यस्ता जोखिम ठाउँमा घर बनाएर बसेका नागरिकलाई बाढी र विशेषगरी पहिरोको कहरले सताउने गरेको छ । साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरहरुमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भिरै भत्केर घरहरु कणाली नदीमा जालान् भन्ने डर र चिन्ता छ ।

सडकले जन्माएका ती बस्तीहरुको व्यवस्थापनमा कसैले ध्यान पु¥याएको देखिदैन । कहालीलाग्दो भिरमा बनेको सडक त्यसमा पनि गाडी आवातजावत गर्नसमेत नसक्ने साँघुरो अवस्थाले गाडी अगाडि बढ्न फराकिलो ठाउँ खोज्नुपर्दछ । विपरीत दिशाबाट आएका गाडी पार गर्न समय त लाग्छ नै, चालकले थोरै पनि संवेदनशीलता अपनाउन नसके दुर्घटनाको खतरा पनि त्यत्तिकै छ ।

नेपाली सेनाले खोलेको साँघुरो ट्रयाक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो । ट्रयाक खोलेको ७ वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो । अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जो कोहीको यात्रालाई जोखिमयुक्त बनाएको छ ।

भिर र साँघुरो सडककै कारण ट्रयाक खोलिएपश्चात कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन् । धनको क्षति पनि त्यसरी नै भएको छ । बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तरवृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै छ ।

सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालीकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ । दुवै संघअन्तरगतकै कार्यालय हुन् । सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिंदैन । सामान्यतयाः राजमार्गको अवरोध हटाउने प्रयास भएपनि राजमार्गको स्तरोवृद्धि हुन सकेको छैन ।

राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको पर्यटन विकास हुन नसकेको युवा पर्यटन व्यवसायी हुम्ला निवासी नुर्वु लामा बताउछन् । यहाँको नेतृत्वको पहलमा संघीय सरकारले सडकको स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ । ‘अन्यथा प्राकृतिक, धार्मिक सांस्कृतिक तथा पुरातात्विक रुपले सम्पन्न कर्णाली आर्थिक, सामाजिक र राजनीतिक विकासमा अझै पछि पर्छ ।’

कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन पुल निर्माण कार्यलाई तीव्रता दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिए । सुर्खेत बाङ्गसिमलदेखि कालीकोट र जुम्लाको सीमामा पर्ने दही खोलासम्म १३२ किलोमिटर सडक खण्डमा निर्माण कार्य सुरु गरिएको २० मध्य १५ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेका छौँ’ उनले भने ।

उनका अनुसार साईखोला, सिस्ने, बाङ्गेतडा, खिड्कीज्यूलामा पनि पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । आर्थिक वर्ष २०६८÷६९ देखि निर्माण कार्य सुरु भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथिको पुल भने १२ वर्षसम्म पनि बन्न सकेको छैन । २ करोडमा निर्माण सुरु गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनेजमा पर्ने सो पुल निर्माण कम्पनीको लापरवाहीका कारण ढिला भएको इञ्जिनीयर शर्माले बताए ।

पविर–सुनकोशी–सिरुवा जेभीले निर्माणकार्यको जिम्मा लिएको बताउँदै उनले उक्त पुल सम्पन्नताका लागि २० दिन काम गरे पुग्ने बताए । उनका अनुसार ठेकेदार कम्पनीलाई दुई दिनभित्र काममा लाग्न ताकेता लगाइएको छ तर सो जेभीले एक हप्ताको समय मागेकाले कारबाहीको अन्तिम अवस्था छौँ । तोकिएको समयमा काम सम्पन्न नगरे कालोसूचीमा राख्ने तयारी भइरहेको उहाँले बताए ।

नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा विसं २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुल निर्माणकै क्रममा चर्किएको छ । त्यसको अनुगमन निरीक्षणको प्रतिवेदन तयारका लागि प्राविधिक टोली त्यहाँ पुगेर फर्किएको इञ्जीनियर शर्माले बताए ।

विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी तयार गरिएको प्रतिवेदन विकास समितिमा पठाएको छ’ उनले भने ‘त्यहाँबाट के भनेर आउँछ, त्यहीअनुसार पुलको काम अगाडि बढ्छ ।’ नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर ९ करोड लगानीमा उक्त पुल बन्न लागेको उनले बताए ।

कर्णालीमा सिङ्गल लेनको पुल भएका कारण धेरैले ज्यान गुमाउनु परेको उनको भनाई थियो । दुई लेनको कर्णाली राजमार्ग जतिसक्दो छिटो बनाउनुपर्ने आवश्यक रहेको भन्दै उहाँले यो कर्मचारीको तहबाट नभई कर्णालीको नेतृत्वको आवश्यक पहल र सङ्घीय सरकारको योजनामा परे मात्र निर्माण कार्य सुरु हुने उल्लेख गरे ।

राकमको बेलिब्रिज टाकुल्ला खोलामा सारिँदै

जुम्ला खलङ्गाको शून्यबिन्दु जुगाड खोलादेखि दहीखोलासम्म करिब १०४ किलोमिटर छ । त्यसबीचमा वर्सेनि नागरिकलाई दुःख दिइरहने कालीकोट सडकखण्डमा पर्ने टाकुल्ला खोला हो जुन तिलागुफा नगरपालिकामा पर्छ । वर्षामा टाकुल्ला खोला बढ्दा गाडी बन्द हुने समस्या वर्षौंदेखि यहाँका नागरिकहरुले भोग्दै आएका छन् ।

उक्त खोलामा पुल निर्माण सुरु भएको करिब १३ वर्ष पुगेको छ । निर्माण कम्पनीले काम नगरेपछि सडक डिजिजन कार्यालय जुम्लाबाट बेलाबेलामा ताकेता लगाउने काम भयो । टाकुल्लाको पुल निर्माणका लागि दुवैतिर बलियो खालका पर्खाल त बनेको छ । एक दशक बित्दा पनि आजका दिनसम्म उक्त खोलामाथि पुल निर्माणको कार्य सम्पन्न हुन सकेको छैन ।

अहिले भने सवारी यातायात नियमित गर्ने विकल्पका रुपमा टाकुल्ला खोलामाथि बेलिब्रिज हाल्ने कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । ‘राकम कर्णालीमा भएको बेलिब्रिज उठाएर टाकुल्लामा हाल्दैछौ’ उनले भने, ‘यसका लागि रु।दुई करोडको बजेट छुट्याइएको हो ।’ दुई लेनको सडक निर्माणका लागि राष्ट्रियस्तरमै पहल हुनुपर्नेमा उनले जोड दिए ।

डिभिजन प्रमुख श्रेष्ठका अनुसार राजमार्गको कालीकोट सडक खण्डको पिलीमा जुम्ला सडक खण्डको रारालिहीमा दुईतर्फी सडक निर्माणका कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय जुम्लाको कार्य क्षेत्रमा रहेको १०४ किलोमिटर सडक अहिले नै दुईतर्फी बन्ने अवस्था छैन । दुईतर्फीको सडक नहुञ्जेल कर्णालीको नागरिकले दुःख भोगी नै रहनुपर्ने अवस्था छ ।

डिभिजन प्रमुख श्रेष्ठले भने, ‘सडकसँगै मोड सुधार गर्नुपर्ने छ । सडक चौडा गर्न राष्ट्रियस्तरबाट बजेट प्राप्त गरी वहुवर्षीय ठेक्का लगाउनु अनिवार्य छ । यसका लागि यहाँबाट नेतृत्व गर्ने जनप्रतिनिधिहरुले सङ्घीय सरकारसँग पहल गर्न ढिला गर्नु हुँदैन । सडक यदि अवस्थामा रहे क्षतिमा कमी आउने देखिदैन ।’

उनले ९१ किलोमिटरको नाग्म–गमगढी सडकको करिब सात किलोमिटर दूरी कालोपत्र गर्न सुरु गर्न थालिएको जनाउनुभयो । कर्णाली राजमार्गको स्तरोन्नतिका लागि बृहत्तर विकास योजना तथा कार्यक्रम र त्यसको निरन्तरता नभएसम्म यहाँका नागरिकको मुहार नफेरिने नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको जीवन रेखा मानिने यो राजमार्गको स्तरोन्नति टुक्रे योजनाले नहुने बताए । ‘हामी वर्षौंदेखि यही सडकमा हिडिरहेका छौं र साँघुरो सडकका कारण जोखिमपूर्ण यात्रा भयो भनेर लेखिरहेका पनि छौं, अध्यक्ष शाहीले भने, ‘तरपनि संघीय सरकारले यसको स्तरोन्नतिको योजना प्राथमिकतामा राखेको पाइँदैन ।’

उनका अनुसार कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरु र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पटकपटक राजमार्गको स्तरोन्नतिको माग संघीय सरकारसँग अनुरोध गरेको पाइन्छ । अब यहाँका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजसहित सरोकारवालाहरुको एकीकृत पहल अपरिहार्य रहेको उनको भनाइ थियो ।

अधिकारवादी तथा कर्णालीका महिला नेतृ लक्ष्मीकन्या बुढाले राज्यले समानुपातिक विकासको अवधारणाअनुसार काम नगरेकाले राजमार्ग बनेको डेढ दशकसम्म पनि यसको स्तरोन्नति नभएको टिप्पणी गरिन । यसका लागि कर्णालीका जनप्रतिनिधि र संघीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्गसगै सरकारसँग अन्तरगत भएकाले त्यसको निर्माण तथा स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग नभएको बताए । यसको स्तरवृद्धिका लागि पटकपटक भन्दा पनि संघीय सरकारले सुनुवाइ नगरेको उनले दुःखेसो पोखे । स्तरोन्नतिका लागि अरबको बजेट लाग्ने राजमार्गमा करोडको बजेटले केही नहुने सडक इञ्जिनीयरहरुले बताउँदै आएका छन् ।

राजमार्गको स्तरोन्नति नहुँदा आवातजावत गर्ने नागरिकको दैनिकी कष्टकर छ भने कर्णाली घुम्न जाने पर्यटकको यात्रा गन्तव्यसम्म नपुगुञ्जेलसम्म कहालीलाग्दो र निरस बन्ने गर्दछ । यसले पर्यटकमा समेत विकर्षण पैदा गराएको छ । असहज र पट्यारलाग्दो यात्राका कारणले होला, यहाँका नागरिक र कर्णाली घुम्न आउने पर्यटकहरुको एउटै प्रश्न हुन्छ, ‘कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?’  (रासस)


Read Previous

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

Read Next

प्रदेशका योजना आयोग सशक्त बनाउन ऐन जरुरी

Leave a Reply

Your email address will not be published.