Nepal Purbadhar

बाँकेको सैयापुरमा पदयात्रा र बाँके निकुञ्जमा जङ्गल सफारी सुरू


बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-७ स्थित सैयापुर क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि पदयात्राको आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ। छोटो उकालो यात्रा, प्राकृतिक सौन्दर्य, झरना, गुफा र विभिन्न शहरको दृश्यावलोकन गर्न पाइने भएकाले यस क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो।

नेपालगञ्जबाट करिब आधा घण्टाको दूरीमा रहेको सैयापुरमा पुगेर पर्यटकले करिब दुई घण्टाको उकालो-ओरालो पदयात्रा गर्न सक्छन्। पदयात्राका क्रममा नेपालगञ्ज, नरैनापुर र भारतका विभिन्न शहरको दृश्यावलोकन गर्न सकिने पर्यटन उद्यमी श्रीराम सिग्देलले बताए।

उनका अनुसार पदयात्राका क्रममा खजुर, भक्कीम्लो, कुसुम, बडहरलगायतका फलफूल तथा विभिन्न प्रजातिका वनस्पति देख्न पाइन्छ। समुद्री सतहदेखि करिब ५०० मिटरको उचाइमा रहेको यस पहाडको चिसो वातावरण र प्राकृतिक बनावटले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

सिग्देलले सैयापुर क्षेत्रको पर्यटन विकासका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताए। पर्यटकीय सम्भावना भए पनि आवश्यक भौतिक पूर्वाधारको विकास हुन नसकेको उनको भनाइ छ।

“करिब दुई घण्टा उकालो र ओरालो पदयात्राका क्रममा मैले फरक अनुभूति गर्न पाएँ। यो आफैँमा एउटा संस्कृति हो,” उनले भने।

नेपालगञ्ज आउने पर्यटकको बसाइ लम्ब्याएर उनीहरूलाई सैयापुरमा पदयात्रा गराउन सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने सिग्देलले बताए। पर्यटकको बसाइ लम्ब्याउन घरबास (होमस्टे) कार्यक्रम विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

बाँकेको चुरे क्षेत्रको अग्लो स्थानमा रहेको सैयापुरमा गरुडबाबा मन्दिर र निर्माणाधीन महाकालेश्वर मन्दिरसमेत छन्। नेपालगञ्जबाट फत्तेपुरको भेलुनिया गाउँ हुँदै विभिन्न सवारीसाधनमा त्यहाँ पुग्न सकिन्छ।

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरू

यसैबीच, बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरू भएको छ। निकुञ्जका पाँचै ओटा वनपथबाट सफारी सञ्चालनमा आएको निकुञ्जका अधिकृत विज्ञान वलीले जानकारी दिए।

वन्यजन्तु अवलोकन, जङ्गल भ्रमण र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक तथा बाह्य पर्यटक सफारीका लागि निकुञ्ज पुग्ने गरेका छन्। पाटेबाघ तथा अन्य दुर्लभ वन्यजन्तुका लागि परिचित निकुञ्जमा सफारी सुरू भएसँगै पर्यटकको आगमन बढ्न थालेको गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण थारूले बताए।

उनका अनुसार प्रकृति र वन्यजन्तुमा रुचि राख्ने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य बन्दै गएको छ। निकुञ्जमा सफारीका लागि चार ओटा जीप रहेका छन्।

निकुञ्जमा पाटेबाघ, चितुवा, हात्ती, गैँडा, जरायोलगायतका वन्यजन्तु अवलोकन गर्न सकिने निकुञ्जले जनाएको छ। सैयापुरको पदयात्रा र बाँके राष्ट्रिय निकुञ्जको जङ्गल सफारीलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके बाँके जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ।


Read Previous

नेपालको ऊर्जा क्षेत्र : समृद्धितर्फको आगामी कार्यदिशा

Read Next

जग्गाको कित्ताकाट खुलाउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar