Nepal Purbadhar

सन् २०३० सम्म नेपाललाई गाभीबाट ८ अर्ब ५९ करोडको खोप सहायता


काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

यसैगरी, गाभीले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको सहायता रकमको लेखापरीक्षणका क्रममा नेपालले फिर्ता गर्नुपर्ने भनी देखाएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको पहल र गाभीसँग भएको संवादपछि सहायता रकम सुनिश्चित हुनुका साथै फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा भएको हो। यसबाट नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोग महत्वपूर्ण रहँदै आएको छ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।


Read Previous

चितवनको धारापानीमा बस, माइक्रो र ट्रक ठोक्किए, १० जना घाइते

Read Next

नेपालको ऊर्जा क्षेत्र : समृद्धितर्फको आगामी कार्यदिशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar