Nepal Purbadhar

२ सय मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान


काठमाडौं/आगामी वर्षायाममा बढी हुने दुई सय मेगावाट बिजुली विक्रीको लागि नेपाल विद्युत प्राधिकरणले टेण्डर आह्वान गरेको छ । वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्नका लागि शुक्रबार प्राधिकरणले टेण्डर आह्वान गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने गरी सो टेण्डर आह्वान गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित दुई सय मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनका अनुसार भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउनेछन् । ‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिश्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, कार्यकारी निर्देशक घिसिङले भने– ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्ने छौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत उपलब्ध गराइने छ ।’

नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह् १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । ईच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । सोबाहेक थप बिजुली विक्रीका लागि प्राधिकरणले प्रतिष्पर्धी दरमा विक्री गर्ने गरी प्रस्ताव गरेको हो ।

गत बर्षामा ५ सय मेगावाट विद्युत खेर गएकोमा चालु बर्षमा ८ सयदेखि एक हजार मेगावाटसम्म खेर जाने विद्युत प्राधिकरणको प्रक्षेपण छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना सम्पन्न भएसँगै आगामी बर्षामा गत बर्षभन्दा दोब्बर खेर जाने अनुमान प्राधिकरणको छ ।


Read Previous

आन्तरिकलाई २ सय र बाह्य यात्रुलाई ३ सय प्रतिशतसम्म हवाई सेवा शुल्क वृद्धि

Read Next

जग्गा एकीकरण (ल्याण्ड पुलिङ) भन्नाले के बुझिन्छ ?