Nepal Purbadhar

अपर तमोर विरुद्ध स्थानीयको आन्दोलन,  साउन १० भित्र काम बन्द गरेर सामान लैजान अल्टिमेटम


काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन रहेको २८५ अपर तमोर जलविद्युत आयोजनाको काम तत्कालै बन्द गर्न भन्दै स्थानीयले अल्टिमेटम दिएका छन् । 

अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समितिले साउन ४ गते जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी तमोर इनर्जी प्रालिलाई साउन १० गतेभित्रमा आयोजनाको काम बन्द गर्न र त्यहाँ भएका सामान फिर्ता लैजान भन्दै अल्टिमेटम दिएको हो । गत शुक्रवारदेखि आयोजना प्रभावित संघर्ष समितिले आन्दोलन सुरु गर्दै साउन १० गतेभित्रमा आयोजनाको सम्पूर्ण सामान लैजान अल्टिमेटम दिएको हो । गत शुक्रवार फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ३ स्थित लिंखिम सिस्नेमा प्रदर्शन भएको थियो ।

संघर्ष समितिका सदस्य तथा आयोजना प्रभावित समेत रहेका श्री लिङखिमकाअनुसार स्थानीयले आयोजनाको काम तत्कालै रोक्नुपर्‍यो भन्दै आन्दोलन गरेका हुन् । उनले भने, ‘हिजो डिपिआरदेखि इआइए गर्दा पनि यहाँ स्थानीयसँग मन्जुरी नलिई गरिएको थियो । गाउँलेहरूले यो विषयसँग सहमत छैनौँ भनेर आन्दोलन गरिरहेका छन् ।’

उनका अनुसार तमोर नदिको महत्त्व मुन्धुमी सभ्यताअनुसार अधिक रहेको छ । तमोर नदी आफैँमा मुन्धुमी शब्द रहेको बताउँदै लिङखिम भन्छन्, ‘नदिको महत्त्व र मुन्धुमी ठाउँहरूको महत्त्व छ । धार्मिक, सांस्कृतिक र सभ्यताको दोहन गर्न खोजियो । प्राकृतिक सम्पत्ति पनि नष्ट हुने अवस्था छ ।’ 

यसअघि पनि स्थानीयले हाइड्रोपावरले मानव समुदायको सभ्यताको केन्द्रलाई क्षति गर्न खोजेको भन्दै आन्दोलन गरेका थिए । हाइड्रोपावरका कारण स्थानीयवासीले मुन्धुमी, धार्मिक, सांस्कृतिक, प्राकृतिक महत्त्व भएको क्षेत्रमा असर गरेको उनीहरूको भनाइ छ । उक्त आयोजना प्रभावित संघर्ष समितिले आयोजना निर्माण हुन थालेदेखि नै आन्दोलन गर्दै आएको छ ।

लिङखिमकाअनुसार पटक पटकको छलफलमा पनि हाइड्रोपावर निर्माण गर्ने कम्पनीले  स्थानीयको मागलाई बेवास्ता गरेको छ । उनी भन्छन्, ‘हामीले आयोजनाको सुरुवातबाट नै आवाज उठाइरहेका छौँ । असार २३ गते र असार २७ गते पनि जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । तर त्यहाँ आफ्नो आफ्नो कुरा राख्ने मात्रै भयो ।’

उनी आन्दोलनको विषयवस्तु अनुसार ठोस निकास हुनुपर्ने बताउँछन् । सरकारी निकायलाई पटक पटक पत्राचार गर्दा पनि यो विषयमा कुनै चासो नदेखाएले स्थानीयहरू आन्दोलनमा उत्रिएको उनले बताए । 

साउन २ गते पनि संघर्ष समितिले अपर तमोर जलविद्युत आयोजनाको विषयलाई लिएर आन्दोलन गरेको थियो । यद्यपि आयोजनाको तर्फबाट शान्तिपूर्ण रूपमा भएको प्रदर्शनलाई पनि दबाउन प्रयास भएको उनी बताउँछन् । उनी भन्छन्, ‘कडा सुरक्षा राखिएको थियो । शान्तिपूर्ण तरिकाले प्रभावितले विरोध गरेका थिए । संरचना बनाउन थालिएको ठाउँहरू सार्वजनिक थलो हो, समुदायको वनको रूपमा संरक्षण गरिएको ठाउँ हो । त्यसलाई क्षति नहोस् भनेर प्रदर्शन भएको छ ।’

२ सय ८५ मेगावाटको अपर तमोर जलविद्युत आयोजना तमोर इनर्जी प्रालिले निर्माण गरिरहेको छ । 

स्थानीयले विरोध प्रदर्शन जनाएर ७ दिनको अल्टिमेटम दिएता पनि तमोर इनर्जीले भने आयोजनाको काम रोकेको छैन । 


Read Previous

प्रसारण लाइन निर्माण गर्ने हाइटेन्सन स्विचगियर्सले एक वर्षमा गर्‍यो २ अर्ब १२ करोड रुपैयाँको व्यापार

Read Next

काठमाडौं उपत्यकामा मनाइयो गुँला पर्व

Nepal Purbadhar