Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून


काठमाडौं । पन्ध्रौं पञ्चवर्षिय योजना कार्यान्वयनको अन्तिम आर्थिक वर्ष चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सोह्रो पञ्चवर्षिय योजना सञ्चालनमा आउनेछ । त्यसको लागि अहिले अवधारणा पत्र तयार गर्नेदेखि विभिन्न क्षेत्र, सस्था र व्यक्तिसँग सुझाव लिने र त्यसलाई आगामी आब २०८५/८६ सम्म कार्यन्वयनमा आउने योजना तयारीमा राष्ट्रिय योजना आयोग जुटेको छ ।

त्यसको लागि प्रदेश र स्थानीय तहबाट पनि सुझाव र समेट्नुपर्ने विषय संकलन गर्ने काम भइरहेको योजना आयोगको सचिवालयले जानकारी दिएको छ । आवधिक योजनालाई पूरा गर्न सकिने गरी तर्जुमा गर्ने तयारीमा रहेको योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बताए ।

तर, अन्य धेरै क्षेत्रमध्ये राष्ट्रिय राजमार्ग निर्माणमा भने पञ्चवर्षिय योजनाले राखेका लक्ष्य पूरा नभएको देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा दुई लेनसम्मको राष्ट्रिय राजमार्ग कालोपत्रेको लम्बार्य ११ हजार ९४ किलोमिटर पुर्याउने लक्ष्य निर्धारण गरिएको थियो । जबकि आबको अन्त्यमा ७ हजार ६७५ किलोमिटर मात्र दुई लेनसम्मको राष्ट्रिय राजमार्ग कालोपत्रे भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । १५ औं पञ्चवर्षियक योजना थालनी हुँदा आब २०७५/७६ मा दुई लेनसम्म कालोपत्रे भएको राष्ट्रिय राजमार्ग ५ हजार ९९४ किलोमिटर थियो । पछिल्ला ४ वर्षमा १ हजार ६८१ किलोमिटर दुई लेनको राष्ट्रिय राजमार्ग कालोपत्रे भएको छ ।

आवधिक योजनाले दुई लेनमाथि द्रुतमार्गसमेत राष्ट्रिय राजमार्ग आर्थिक वर्ष २०७९/८० मा ७४५ किलोमिटर पुर्याउने लक्ष्य निर्धारित थियो । तर, अहिलेसम्म २३० किलोमिटर मात्र प्रगति भएको छ । आधार वर्षमा दुई लेनमाथि द्रुतमार्गसमेतको राष्ट्रिय राजमार्ग ९६ किलोमिटर थियो ।

यति मात्र होइन, राष्ट्रिय राजमार्गको नयाँ ट्र्याक निर्माणमा पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७९/८० मा ४०० किलोमिटर नयाँ ट्र्याक निर्माण गर्ने लक्ष्य तोकिएको थियो । तर, ७० किलोमिटर मात्र नयाँ ट्र्याक निर्माण भएको छ ।

तोकिएका लक्ष्यमध्ये राष्ट्रिय राजमार्ग पुनर्स्थापना तथा पुनर्निमाणमा भने अन्यको तुलनामा सन्तोषजनक प्रगति छ । आर्थिक वर्ष २०७९/८० मा २५० किलोमिटर राष्ट्रिय राजमार्ग पुनर्स्थापना तथा पुनर्निमाण गर्ने लक्ष्य लगभग पूरा गरेको छ । यो वर्ष सडक विभागले २४९ किलोमिटर राष्ट्रिय राजमार्ग पुनर्स्थापना तथा पुनर्निमाण गरेको छ ।

अघिल्ला वर्षहरुमा सहजै पूरा हुने गरेको राष्ट्रिय राजमार्ग आवधिक मर्मत सम्भारमा पनि सडक विभागले गरेको काम सन्तोषजनक छैन् । आव २०७९/८० मा ७७५ किलोमिटर सडक आवधिक मर्मत सम्भार गर्ने लक्ष्य निर्धारण गरियो । तर, वर्षको अन्त्यमा ५३८ किलोमिटर सडक मात्र आवधिक मर्मत सम्भार गरिएको तथ्यांकमा उल्लेख छ ।

सडक विभागले राष्ट्रिय राजमार्गको नियमित मर्मत सम्भारमा भने लक्ष्यभन्दा बढी प्रगति गरेको छ । आव २०७९/८० मा ७ हजार २२५ किलोमिटर राजमार्ग नियमित मर्मत सम्भार गरिएको छ ।

सडक पुल निर्माण राष्ट्रिय राजमार्ग निर्माणका एउटा महत्वपूर्ण पक्ष हो । आर्थिक वर्ष २०७९/८० मा सरकारले ३५० पुल निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसमममा २२२ पुल मात्र सम्पन्न भएका छन् । यसअघि आब २०७८/७९ मा पनि ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा २८२ पुल सम्पन्न भएका थिए ।

सडक विभाग, पुल तथा सडक आयोजनाका अधिकारीहरु भने पछिल्लो वर्ष अपेक्षित प्रगति नहुनुमा कामको भुक्तानी नहुनु एउटा प्रमुख कारण रहेको बताउँछन् ।


Read Previous

अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र

Read Next

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

Leave a Reply

Your email address will not be published.