Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बाग्मती किनारालाई सुन्दर बनाउने पूर्वाधार संरचनाको संरक्षणमै चुनौती


काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ का ७० वर्षीय साधुराम पुडासैनीले सोचेका पनि थिएनन् कि वाग्मती नदी किनारा यति सुन्दर हुन्छ भनेर ।

दुई दशक अघिसम्म वागमती नदीको किराना दिसा पिसाब गर्ने, फोहोर फाल्ने, चोरी डकैती हुने थलो रहेको स्मृति उनको मनमा ताजै छ । तर, उनले हेर्दाहेर्दै बागमती नदी किनारा सुन्दरतामा परिणत भयो । ‘२०/२५ वर्ष अघिसम्म वागमती नदी किनारा फोहोर थियो, यही दिसा पिसाब गर्थे, फोहोर फाल्थे ।, उनी भन्छन्, ‘अहिले सफा र सुन्दर भएको छ, तर विस्तारै यो सुन्दर ठाउँका पूर्वाधारहरु बिग्रने खतरा बढ्दो छ ।’

यस्तै अनुभव छ, गोकर्ण नगरपालिका–७ का ७१ वर्षिय शंकर बर्मा र काठमाडौ महानगरपालिका–६ बौद्धका माधव चालिसेको पनि । ‘हेर्दा हेर्दै वागमती किनारा धेरै परिवर्तन भयो, यति सुन्दर बन्छ भन्ने सोचेको पनि थिइन ।’ किनाराका घाम तापिरहेका उनले भने, ‘पहिला यसरी यहाँ आउन सकिन्थ्यो र, अहिले त घरमा उकुसमुकुस भयो भने तुरुन्तै यहाँ आईहाल्छु ।’ चालिसे पनि नदी किरानामा बनाइएका सुन्दर संरचनाले यो क्षेत्रकै समग्र रुपान्तरण गरेको र सर्वसाधारणलाई धेरै सहज बनाएको बताउँछन् ।

एशियाली विकास बैक (एडीबी) को सहयोगमा सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी बेसिन सुधार परियोजनामार्फत नदी किनारा सौन्दर्यीकरणपछि वागमतीको नदीका दुवै किनारा यति सुन्दर बनेको हो । १० वर्षअघि सुरु भएको परियोजना अन्तर्गत काठमाडौ र ललितपुर महानगरपालिका तथा गोकर्णेश्वर र कागेश्वरी नगरपालिकाका नदी किरानामा विश्रामस्थलहरु, पार्कहरु, साइकल लेन, यहाँ सुहाउने प्रजातीका विरुवाका साथै दुबोका साथै सम्पदाहरुको पुर्नस्थापना र पुर्ननिर्माण, फोहोमैला व्यवस्थापन, क्रियापुत्री भवन, सार्वजनिक शौचालय, सिञ्चाईको पुरानो बाँधको सुधार र होचा बाँधहरु निर्माण गरिएको छ ।

गोकर्णदेखि गुहेश्वरी र तिलगंगा पुलदेखि सिनामंगल पुलसम्म ७.५ किलोमिटर तथा थापाथली पुलदेखि बल्खु पुलसम्मको २.८ किलोमिटर लामो वागमती नदीका दुवै किनारातर्फ सौन्दर्यीकरण भएपछि अहिले यी किनारा वरिपरिको जीवनस्तर लोभलाग्दो अवस्थामा छ ।

बन्यो व्यायाम र विश्राम गर्ने थलो

पहिले फोहोर हुने र जान पनि डर लाग्ने गोकर्णदेखि गुहेश्वरीसम्मको नदी किनारा अहिले बिहानदेखि बेलुकासम्म व्यायाम र विश्राम गर्ने थलो बनेको छ । प्रत्येक बिहान मर्निङ वार्क गर्ने, दिउँसो विश्रामस्थलमा रमाउने र बेलुका हावाको मज्जा लिनेहरुको भीड लाग्छ । ‘बिहानभरि मर्निङ वाक गर्न पाइन्छ, दिउँसो आएर यहाँ विश्राम गर्न पाइन्छ, हामी यूवाका लागि धेरै सहजता ल्याएको छ ।’ माकलबारीमा भेटिएका युवा सागर तामाङले भने ।

विशेष गरी दिउँसोको विश्राम गर्ने वृद्धवृद्धाहरुको ठूलो संख्यामा यहाँ भेटिन्छ । ‘घरभित्र बस्दा धेरै उकुसमुकुस हुन्छ, हावा खान र घाम तापेर बस्न यहाँभन्दा सहज कहाँ हुन सक्छ ।’ माकलबारीमै भेटिएकी ८० वर्षीया जयन्तीमाया थापाले भनिन्, ‘पहिला यहाँ यस्तो नहुँदा खुला जाने ठाउँ थिएन, अहिले धेरै सजिलो भएको छ ।’

नदी किनारामा बढ्दो व्यवसाय र आकाशिएको जग्गाको भाउ

नदी किनारामा सौन्दर्यीकरण भएपछि नदी किनारा बजारमा परिणत भएको छ भने वरिपरिको जग्गा प्लटिङ गर्ने क्रम बढेको छ । गोकर्णदेखि गुहेश्वरीसम्मको नदी किनारासम्म पाँच सयभन्दा बढी पसल, रेष्टुरेण्टदेखि अन्य व्यवसाय पनि सञ्चालनमा छन् । सरकारले नदी किनारामा सडकसँगै सौन्दर्यीकरण गरेपछि यसले जग्गाको भाऊ पनि धेरै बढाएको छ ।

‘नदी किनारामा यति धेरै पसल र रेष्टुरेण्ट खोल्छन् भन्ने परिकल्पना नै गरिएको थिएन, अहिले त जताततै छन् ।’ गोकर्णेश्वर नपा–७ का रामकृष्ण खड्का भन्छन्, ‘यही कारण अहिले जग्गाको भाउ जताततै अचाक्ली बढेको छ ।’ ७० वर्षीय पुडासैनीको अनुभवमा २०५५ साल अर्थात २५ वर्षअघि एक रोपनी जग्गाको मुल्य ३० हजार रुपैयाँ थियो तर अहिले प्रति आना ५५ लाख रुपैयाँसम्म पुगेको छ ।

सौन्दर्यीकरण बिग्रिदै, पूर्वाधार संरचना भत्किँदै

नदी किनारा सुन्दर भएपछि मर्मत सम्भार र यसको संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा अहिले भने निर्माण भएका पूर्वाधार संरचनाहरु भत्किन र उपयोगविहिन हुन थालेका छन् ।

अहिले पार्कभित्र र किनारामा मोटरसाइकल गुडाउने, फोहोर फाल्ने, रुख विरुवामा क्षति पु¥याउने, दुबो बिगार्ने, कुकुरलाई डुलाउने काम हुन थालेको छ भने पार्कभित्र झार उम्रेर र जथाभावी रुपमा साना पसल राख्ने लगायतका काम हुन थालेपछि सौन्दर्यीकरणमा असर परेको छ । यति मात्र होइन, गोकर्णको माकलबारीमा निर्माण गरिएको किरियापुत्री घर शौचालय बनेको छ भने शौचालय प्रयोगविहिन छ । पार्कभित्रका विश्रामस्थल र पाटीहरु भत्किन थालेका छन् । ‘तत्काल मर्मतर सम्भार नगर्ने हो भने चार वर्षपछि यहाँभित्रका बार, पाटी, बेञ्च केही रहदैन, सुन्दर किनारा फोहोर खन्याउने स्थलको रुपमा परिणत हुन्छ ।’ माकलबारी टोल सुधार समितिका पूर्व उपाध्यक्ष रामहरि श्रेष्ठ भन्छन्, ‘यति धेरै खर्च गरेर निर्माण गरिएका पूर्वाधारहरु छन्, कुनै बेला प्रधानमन्त्री समेतले गर्वका साथ यो ठाउँको नाम लिन्थे, अब त बेहाल होला जस्तो छ ।’

यस्तै चिन्ता पुडासैनी, बर्मा र चालिसेको पनि छ । ‘यति धेरै राम्रो संरचना त बन्यो तर अहिले फेरि पहिलाकै अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता छ, नगरपालिकाले पनि यसमा चासो दिएको छैन, गार्ड मात्र राखिदिएको भएपनि यस्तो अवस्था आउने थिएन ।’ उनीहरु भन्छन् ।

हस्तान्तरणपछिको संरक्षणमा अन्योलता

पूर्वाधार संरचना निर्माणपछि गत साउन ४ गते अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले गोकर्णेश्वर र कागेश्वरी मनहरा नगरपालिकालाई संरचनाको संरक्षण गर्ने गरी हस्तान्तरण गरिसकेको छ । काठमाडौ र ललितपूर महानगरपालिकामा भने हस्तान्तरण गर्न बाँकी छ । ‘गोकर्णेश्वर र कागेश्वरी मनहरा नगरपालिकालाई निर्माण गरिएको संरचना संरक्षण गर्ने गरी हस्तान्तरण गरिसकेका छौ भने काठमाडौ र ललितपूर महानगरपालिकालाई हस्तान्तरणका लागि प्रस्ताव गरेका छौ ।’ समितिका कार्यकारी अध्यक्ष उद्धव तिमल्सिना भन्छन्, ‘राम्रा संरचनाहरु बनेका छन् र यसको सम्पूर्ण व्यवस्थापन स्थानीय सरकारले गर्छु भनेको छ, यसको संरक्षण हुने आशा गरेका छौ ।’ उनका अनुसार, गोकर्णदेखि गुहेश्वरीसम्मका लागि मात्र एडीबी सहायताको १ अर्ब ९० करोड रुपैयाँ यो परियोजनाका लागि खर्च भएको छ ।

समितिले हस्तान्तरण गर्नु अघिसम्म यस नदी किनारामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजले यसको संरक्षण, रेखदेख र निगरानी गर्ने गरेका थिए । तर, अहिले स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि उनीहरुको सक्रियता पनि घटेको छ । ‘पहिला हामीले फोहोर फाल्नेलाई रिचार्ज कार्डको आधारमा पत्ता लगाएर कार्बाही गरेका उदाहरण पनि छन्, हामीले धेरै रेखदेख गरेका थियौ ।’ माकलबारी टोल सुधार समितिका पूर्व उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिले न नगरपालिकाले संरक्षण गरेको छ, न स्थानीय संघसंस्थाले गर्न सक्ने गर िजिम्मा दिइएको छ, अर्को देशले दिएको ऋणले बनाएको संरचना वेवास्ताले बिग्रेर जाने भो ।’

स्थानीयको माग, जिम्मेवारी दिने तयारीमा नगरपालिका

सामाजिक संघसंस्था र टोल सुधार समितिहरुलाई निर्माण भएका संरचना जिम्मा दिने र आवश्यकताको आधारमा मर्मत सम्भारको कार्य नगरपालिकाले गर्न सकेमा बनेका संरचनाहरुको संरक्षण हुने स्थानीयबासीहरु बताउँछन् । यसका साथै आवश्यकताको आधारमा सुरक्षाकर्मी (गार्ड) राख्ने र सीसीटीभी जडानको कार्य गरेमा पनि यसको रेखदेख हुने उनीहरुको तर्क छ । ‘स्थानीय वडाले सामाजिक संघसंस्था र टोल सुधार समितिहरुलाई दिएमा संरक्षण हुन्छ, नत्र हेर्दा हेर्दै बिग्रन्छ ।’ माकलबारीमा भेटिएका राम तामाङले भने, ‘यी संरचनाहरुले धेरै सुखको श्वास फेर्न पाएका छौ तर विस्तारै बिग्रदै जाने अवस्था बन्दैछ ।’

नगरपालिकाका अधिकारीहरु पनि विद्यालयका साथै स्थानीय संघसंस्थालाई संरक्षणको जिम्मेवारी दिने तयारी भएको बताउँछन् । तर, स्थानीय सरकारले जिम्मा लिएको पाँच महिना लागे पनि हालसम्म हस्तान्तरण भएको छैन । गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल नगरपालिकाले संरक्षणका लागि २५ जना यूवा परिचालन गर्न लागेको र वडामार्फत स्थानीय विद्यालय, संघसंस्थामा हस्तान्तरण गर्ने कार्य अघि बढाइएको बताउँछन् । ‘हामीले यस क्षेत्रको संरक्षणका लागि २५ जना जनशक्ति माग गरेर नियुक्त गर्ने प्रक्रिया अघि बढाईसकेका छौ ।’ उनले भने, ‘वडामार्फत विशेष गरी स्कूलहरु र स्थानीय संघसंस्थालाई दिने काम अघि बढाउँदै छौ ।’

उनले स्थानीय विद्यालय र संघसंस्थाले माग्न आएमा तुरुन्तै दिने बताउँदै कतिपय विद्यालयसँग छलफल भईरहेको जानकारी दिए । ‘बनाइएका संरचना नगरपालिका मातहतमा आएका छन्, यसको संरक्षण हुन्छ, यसका लागि हामी सक्रिय भएर लागेका छौ ।’ उनले भने ।


Read Previous

भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

Read Next

अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *