Nepal Purbadhar

बूढीगण्डकी अर्धजलाशय आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी


काठमाडौं । गोरखाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बहने बूढीगण्डकी नदीमा पहिचान भएको ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली २०५० को नियम १२ मा भएको व्यवस्था अनुसार श्री टाइम्स इनर्जी प्रालिले निर्माण गर्न लागेको याे आयोजनाको उत्पादन अनुमितपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

विद्युत विकास विभागले सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन रिर्पोटका आधारमा आयोजनाको प्रवर्द्धक कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्नुअघि ३५ दिने सूचना जारी गरी सम्बन्धित सरोकारवालासँग राय तथा सुझाव मागेको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रभाव पर्ने भएमा लिखितरूपमा राय तथा सुझाव पठाउन सम्बन्धित सरोकारवालाहरूमा सूचनामार्फत आग्रह गरेको छ । विभागले ३५ दिनभित्र प्राप्त राय तथा सुझावका आधारमा आयोजनाको उत्पादन अनुमतिपत्र जारी गर्नेछ । प्रवर्द्धक कम्पनीले सन् २०११ मा आयोजनाकाे अध्ययन अनुमतिपत्र लिइ अध्ययन सुरु गरेकाे थियाे ।

बूढीगण्डकी नदीमा प्रस्तावित यो आयोजना निर्माण हुँदा सुख्खा याममा दैनिक ५ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । आयोजनाको कूल हेड ३९८ मिटर रहनेछ । आयोजनाको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुनेछन् ।

आयोजनाकाे निर्माण २०८५ साल चैतभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाले वार्षिक औसत १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि ४५ किलोमिटर टाढा नेपाल विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सबस्टेसनमा लगेर जोडिनेछ ।

Facebook Comments

Read Previous

भार्लाङमा सिँचाइ सुविधापछि बाहैमास तरकारी खेती

Read Next

राष्ट्रिय गौरवका आयोजना कहिले पूरा हुन्छन, प्रधानमन्त्रीज्यू ?, सांसदका प्रश्नमा प्रधानमन्त्रीकाे जवाफ (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar