Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन


काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो ।

अहिले आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाने गरी विद्युतगृहमा जडित उत्पादन युनिट आलो–पालो गरेर परीक्षण गर्ने कार्य भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल ढुंगेलले बताए । ‘मुख्य प्रसारण लाइन समयमा नबनेपछि हामीले वैकल्पिक प्रसारण लाइनमार्फत केही दिन अगाडि हामीले हाम्रो आयोजना प्रणालीमा जोडेका छौं,’ उनले भने, ‘अहिले परीक्षण चलिरहेको छ । परीक्षणको चरण भएकाले वैकल्पिक प्रसारण लाइनकाे कम क्षमताका कारण ६ देखि ७ मेगावाट हाराहारीमा आयोजनाको विद्युत प्रणालीमा गएको छ ।’

उनका अनुसार बुधबारदेखि निरन्तररूपमा ४८ घन्टाको परीक्षण सुरु हुन लागेको पनि ढुंगेलले जानकारी दिए । परीक्षण अवधि पूरा भएपनि मात्रै आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजनाको व्यापारिक उत्पादन सुरु हुँदा वैकल्पिक प्रसारण लाइनबाट १२ मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने उनले बताए ।पूर्ण क्षमतामा भने चिलिमे हब सबस्टेसनसम्मकाे प्रसारण लाइन तयार भएपछि मात्रै उत्पादन सुरु गर्न सकिनेछ ।

आयोजनाको विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमा जोडिनु पर्ने गरी प्रसारण सम्झौता भएको छ । तर, अहिलेसम्म २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण सम्पन्न भइनसकेकाले आयोजनाको विद्युत पहिले तय भएकै सबस्टेसनमा जोड्न समय लाग्ने देखिएपछि वैकल्पिक लाइनमार्फत विद्युत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा लगेर जोडिएको हो । आयोजनाले चिलिमे हब सम्म निर्माण गर्नुपर्ने ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम भने सम्पन्न भइसकेको छ ।

२०६९ सालबाट निर्माण सुरु भएको आयोजनाको काम सम्पन्न भई पहिले नै विद्युत उत्पादन सुरु भइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, प्रसारण लाइनको समस्या लगायत विविध कारणले काम प्रभावित हुँदा आयोजना सम्पन्न हुन एक दशकभन्दा बढी समय लागेको छ ।

कोभिड–१९ महामारीको समयमा इलेक्ट्रोमेकानिकल उपकरण लामो समयसम्म आयात हुन नसक्दा तथा ठेकेदार कम्पनीका कामदार तथा प्राविधिक चीनबाट फर्किन धेरै समय लाग्दा २ वर्षभन्दा बढी समय काम ठप्प हुन पुग्यो ।

कम्पनीले नै निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजना पनि पूरा हुने चरणमा छ । यो आयोजना सम्पन्न हुन अब बढीमा २ महिना लाग्ने तर प्रसारण लाइन तयार नहुन्जेल विद्युत उत्पादन सुरु गर्न नसकिने कम्पनीले जनाएको छ । यो आयोजनाको विद्युत भने चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भइसकेपछि चिलिमे हब सबस्टेसनमा जोडिनेछ ।

यो आयोजना समेत भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारी, प्रसारण लाइनको समस्याले लक्ष्यभन्दा ढिलो गरी सम्पन्न हुँदैन । दुवै आयोजना सम्पन्न गर्न ब्याज बाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भए पनि निर्माण अवधि लम्बिएका कारण बढ्ने देखिएको छ ।


Read Previous

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

Read Next

ऊर्जा विकासको सम्भावना र चुनौतीबारे पूर्वाधार समितिमा बहस: कसले के भने ?

Leave a Reply

Your email address will not be published.