Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

वर्षाले पर्यावरण र किसानलाई राहत


काठमाडौं । लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताइन् ।

‘पाँच महिनापछि फागुनको अन्तिममा भएको हिउँदे वर्षाले केही पर्यावरण राम्रो भएको छ भने किसानलाई ठूलो राहत भएको छ’, उनले भनिन्, ‘अहिले हिउँदे वर्षा सकिएर प्रि-मनसुन सुरु भइसकेको छ ।’ वर्षका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ ।

चैतको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैतेधान र हिमाली क्षेत्रमा आलुलगायत बालीनाली लगाउन लागि किसानलाई सहज भएको उनको भनाइ छ । ‘कात्तिकदेखि फागुनसम्म वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । खडेरीपछिको वर्षाले किसान खुसी भएका छन् । वातावरण सफा भएको छ’, वरिष्ठ मौसमविद् कँडेलले भनिन् ।

वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताए । ‘वर्षाले पर्यावरणमा सकारात्मक प्रभाव पार्छ, वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ’, उनले भने, ‘साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ । लामो समयदेखि वर्षा नभइरहेको अवस्थामा भएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ ।’

मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । ‘वर्षाले वातावरण सफा भएको छ, प्रदूषण कम हुनका साथै किसानलाई पनि राहत भएको देखिन्छ । हिमाली भू–भागमा हिमपात भइरहेकाले पनि मौसम सफाल भएको छ’ उनले भने ।

यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो । यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन् ।पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । हिमपातका कारण कालापत्थर जस्तै देखिन थालेका हिमाल सेताम्मे भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका वर्षाका कारण पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको छ । गए राति भएको वर्षासँगै ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा आज पनि सामान्य हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । हिउँ परेसँगै यहाँ पर्यटकको सङ्ख्या पनि बढेको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयको भनाइ छ ।अनुकूल मौसमले देशका पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता मिलेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमाल आरोहणका लागि यतिखेर विभिन्न मुलुकका आरोहीले धमाधम आरोहण अनुमति लिइरहेका छन् ।

बुधबारदेखि मौसम सुधार

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् लामिछानेका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

देशका पहाडी भूभाग र तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाकोे सम्भावना छ । भोलिदेखि क्रमिक रुपमा मौसम सुधार हुनेछ भने क्षणिक बदली र वर्षा भए पनि निरन्तर मौसम प्रतिकुल भने हुने छैन ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । सिबी अधिकारी/रासस


Read Previous

एकीकृत पानी व्यवस्थापनसम्बन्धी कानुनमा जोड दिदै सकियो वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

Read Next

सुदुरपश्चिममा ३२ हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता, प्रदेश सरकारले विशेष पहल गर्ने

Leave a Reply

Your email address will not be published.