काठमाडौं । संक्रमणकालीन दीगो ऊर्जा विकासका लागि नेपाल, भारत र बंगलादेशले गंगा नदीको वेसिनलाई सहकार्य, समन्वय र सहजीकरणमार्फत अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गंगा नदीको पानीको दीगो उपयोगमार्फत अधिकतम उपयोग गरी तीनवटै देशले यसलाई अघि बढाउनका लागि उपयुक्त नीति, योजना र कार्यक्रम निर्माणमा सहकार्य गर्नुपर्ने बताएका हुन । दीगो रूपमा गंगा नदीको पानीको बहुउपयोगका लागि यस क्षेत्रका मिडिया र नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुनेमा उनीहरूको जोड थियो ।
आईयुसिएन, द एशिया फाउण्डेसन र नेफेजले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको गंगा नदी वेसिनमा दिगो ऊर्जा परिवर्तनका लागि आधार रेखा र परिदृष्यहरूको प्रसार विषयमा आयोजित क्षेत्रीय कार्यशालामा सरोकारवालाहरूले गंगा नदीको पानीको समुचित उपयोगका लागि सबैले साझा धारणा बनाएर अघि बढाउनुपर्ने बताए । गंगा नदी वेसिनको पानीको उपयोगका लागि अन्तरदेशीय विद्युत व्यापारका लागि उपयुक्त नीति र नियमनको व्यवस्था, एकीकृत रूपमा आधुनिक ग्रिडको विकास, ऊर्जा, जलवायु परिवर्तन, पानी, र यसको नीति निर्माणका लागि सबै सरोकारवालाको सहभागितामा योजना बनाउनुपर्नेमा कार्यशालामा जोड दिइएको थियो । मिश्रित ऊर्जा र विविधकीरण, वातावरण जोखिम निर्धारण तथा नवीकरणीय ऊर्जाको उपयोगमा पनि तीन वटै देशको प्राथमिकता हुनुपर्ने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले सरकारले सन् २०४५ भित्र शुन्य कार्बन विर्सजनको दीर्घकालीन नीति लिएको र सोको कार्यान्वयनका लागि रणनीतिक रूपमा ऊर्जा मिश्रितको अवधारणालाई केन्द्रमा राखेर अघि बढेको बताए । उनले नेपाल, भारत र बंगलादेशमै नवीकरणीय ऊर्जाको विकासलाई उच्च महत्व दिनुपर्ने तथा नेपालमा जलविद्युत र सौर्य ऊर्जा (सोलार) को निर्यातको सम्भावना पनि भएको बताए ।
कार्यशालामा आईयुसीएन नेपालका निमित्त प्रमुख डा. नरेन्द्रमान बाबु प्रधान, द एशिया फाउण्डेसन, बंगलादेशका वरिष्ठ कार्यक्रम प्रबन्धक एमडी. जाकारिया, दक्षिण एशिया वाटर र वेटल्याण्डका कार्यक्रम अधिकृत विश्व रञ्जन सिन्हा, स्टिमन सेन्टरका अनुसन्धान विश्लेषक कार्टसे वीथरबाई र स्टीमसन सेन्टर अमेरिकाका अनुसन्धान विश्लेषक फारवा आइमेर लगायतले नेपाल, भारत र बंगलादेशबीच द्धिपक्षी ऊर्जा विकासका लागि सहकार्य भइरहेको बताउँदै दीगो ऊर्जा विकासका लागि नागरिक समाज र मिडियाले पनि सकारात्मक वातावरण निर्माण गर्नुपर्ने बताए ।
गंगा वेसीनमा थप दिगो र समावेशी ऊर्जा मिश्रणबारेको दोस्रो सत्रमा सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आईसेट नेपाल)का कार्यकारी निर्देशक डा. अक्षय दीक्षित, नेपाल वातावरण पत्रकार समाज (नेफेज) का पुर्व अध्यक्ष कसमस विश्वकर्मा, बंगलादेशको युनाईनेट इन्टरनेशन विश्वविद्यालयका ऊर्जा अनुसन्धान केन्द्रका निर्देशक शार्हरियर चौधरी, भारतको साउथ एशियन विश्वविद्यालयका सहायक प्राध्यापक मेधा विश्ट, आईडब्लीएमईका अनुसन्धानकर्ता आर्चिसम्यान र थर्ड पोल नेपालका सम्पादक रमेश भुषालले सरोकारवालाहरुको भूमिकाबारे चर्चा गरेका थिए । विशेष गरी मिडिया र नागरिक समाज जस्ता सरोकारवालाहरूले पानी, ऊर्जा र यसको उपयोगको मुद्दालाई सार्वजनिक गरी नागरिकलाई सुसचित र सजग गराउनुपर्ने बताए । उनीहरूले दीगो ऊर्जासँगै दीगो वातावरणीय ऊर्जा विकासका लागि पनि महत्व दिनुपर्ने बताए ।