Nepal Purbadhar

व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन महासंघको माग


काठमाडौं । यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार राजधानीको केन्द्र गोंगबु नयाँ बसपार्कस्थित लोत्से मलमा दिनदहाडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

‘केही मिटर पर मात्र प्रहरी वृत्त हुँदाहुँदै पनि भएको यस किसिमको लुटपाटको घटनाले देशको सुरक्षा स्थिति कतिसम्म कमजोर भइसकेको छ भन्ने उदाङ्गो भइसकेको छ ।’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राज्यका समग्र सुरक्षा निकायलाई नै ठूलो चुनौती दिने गरी भएको यस किसिमको आपराधिक घटनाले निजी क्षेत्रलाई आतङ्कित मात्र बनाएको छैन, मुलुकको फितलो सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय समुदाय समेत जानकार हुन पुगेको छ’ विज्ञप्तिमा लेखिएको छ ।

राजनीतिक अस्थिरताबीच मुलुकको आर्थिक अवस्था पनि अत्यन्त रुग्ण रहेको वर्तमान परिस्थितिमा भएको लुटपाटको घटनाले स्वदेशमै केही गर्न चाहने उद्यमीहरूको मनोबल निकै गिरेको महासंघले जनाएको छ ।

महासंघले तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै पीडित व्यवसायीलाई अविलम्ब उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

राजधानीको मुटुमै भएको उक्त घटनापछि दूरदराजमा काम गरिरहेका निर्माण व्यवसायी लगायत अन्य उद्योगमा आबद्ध उद्यमी समेत आतङ्कित भएकाले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिने गरी सबै तह तप्काका व्यवसायी, तिनका सरसामान र उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।


Read Previous

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना आवश्यक

Read Next

सराङघाट सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्ति सहज