उर्लाबारी । नेपालमा विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार क्षेत्र छन् । तर सिमसार क्षेत्रमा समावेश नभए पनि पर्यावरणी, पौराणिक महत्व भएको उर्लाबारी सिमसार पनि एक हो । यी सिमसार स्थानीय तहको आन्तरिक स्रोत समेत बनेका छन् ।
पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी लगायत गरी पाँच वटा सिमसार क्षेत्र छन् । सिमसारयुक्त पर्यटकीय नगरीका रूपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवर्द्धन गर्न ‘स्वच्छ समृद्ध र समतामूलक उर्लाबारी’ भन्ने नाराका साथ पर्यटक भित्र्याउने योजना बनाएको छ।
विशेष गरी उर्लाबारी-२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रूपमा परिणत भएको छ भने अन्य सिमसारको उचित संरक्षण र प्रवर्द्धनमा स्थानीय सामुदायिक वन र नगरपालिका गुरुयोजना बनाएर लागि परेका छन्।
पूर्व-पश्चिम राजमार्गमा स्थित मंगलबारे चोकबाट करिब डेढ किलोमिटर उत्तरमा चारकोसे जंगलभित्र रहेको बेतिनी सिमसारमा पूर्व नेपालका झापा, सुनसरी लगायतका जिल्लाबाट वनभोजको समयमा वनझोज खान त अन्य समयमा घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ।
सो सिमसार क्षेत्रलाई बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको छ। सामुदायिक वनको आम्दानीको मुख्य आयस्रोत वनपैदावर भए तापनि सिमसार क्षेत्रको विकाससँगै वनको आम्दानीमा सिमसारले उल्लेख्य भूमिका निर्वाह गरेको सामुदायिक वनका अध्यक्ष कुमार राई बताउँछन्।
‘सिमसार क्षेत्रको अवलोकन गर्न दैनिक औसतमा पाँच सय मानिस आवतजावत गर्नुहुन्छ, सामुदायिक वनले वनपैदावरको निकासीबाट वार्षिक ३० देखि ३५ लाख आम्दानी गर्दै आएको थियो,’ उनले भने, ‘जसमा सिमसारबाट हुने २० लाख रुपैयाँ आम्दानी थपिएको छ।’
यति मात्रै हैन यहाँ सिमसारको विकाससँगै स्थानीय छ जनाभन्दा बढीले रोजगारी पाएका छन् भने सिमसार क्षेत्रभित्र खाजा खानका लागि होटल पनि खोलिएका छन्। सिमसार क्षेत्रको विकास र प्रवर्वद्धनका लागि पनि स्थानीय उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ।
बेतिनी सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्तस्थल बन्दै गएको छ। वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानीलगायतको उचित व्यवस्थापन गरिएको छ भने बालउद्यान, बोटिङ तथा पोखरी यहाँका आकर्षण हुन्।
सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेल गरिएको छ। सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिमर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुंगी पाइन्छ। यस्तै आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिंगरलगायत जीवजन्तु पाइन्छ।
उर्लाबारी–२ कै अर्को महत्वपूर्णस्थल हो, बुढाठाकुर सिमसार क्षेत्र। पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको ऐतिहासिक क्षेत्रको रुपमा बुढाठाकुरलाई मान्ने गरिएको छ। प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पूजासहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ।
उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब पाँच किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी बस्ती छेउमा रहेको यस सिमसारको पौराणिक महत्व रहेको अध्यक्ष यामबहादुर धिमाल बताउँछन्। सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढाठाकुर सिमसारको विकाससँगै पौराणिक महत्वका बारेमा प्रचारप्रसार गर्न सके यसको महत्व र गरिमा झनै बढ्ने धिमालको भनाइ छ।
त्यस्तै, उर्लाबारी-२ मा रहेको लामपाते सिमसार पनि पर्यटकीय क्षेत्र बन्नसक्ने प्रचुर सम्भावना छ। उर्लाबारी–३ नयाँ मंगलबारेबाट डेढ किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुँदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ। सालबारी सामुदायिक वनको हाताभित्र रहेको सिमसार क्षेत्रमा कृतिम पोखरी र केही टहरा निर्माण गरिएको छ।
जहाँ विभिन्न प्रकारका चराचुरुङगीको वासस्थान रहेको छ। विशेष गरी यस सिमसार क्षेत्रमा पानी हाँसका दुई खाले प्रजाती बस्ने गरेको सालबारी सामुदायिक वनका अध्यक्ष नरेन्द्र थापा बताउँछन्।
थापा भन्छन्, ‘सिमसार करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ, सिमसारको विकास र संवर्द्धनका लागि सिमसारमा बोटिङ तथा पर्यटकीयस्थलका रूपमा परिचित गराउन सकिने आधार छन् जस्का लागि हामीले गुरुयोजना नै बनाएर काम गर्ने सोचका साथ अगाडि बढिरहेका छौँ ।’
यस्तै उर्लाबारी-२ मै रहेको बाँसेचौरी सिमसार क्षेत्र भने उचित संरक्षणको अभावमा छ। सुनझोडा सामुदायिक वन समूहको हाताभित्र एकान्त वातावरणमा रहेका यस क्षेत्रमा वनभोजका लागि मानिस पुग्ने गरेका छन्। ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ।
उर्लाबारी-३ को नयाँ मंगलबारेबाट करिब ४.५ किलोमिटर उत्तरमा रहेको बासेचौरी छिमेकी पालिका पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्छ। यहाँ वनभोजको सिजनमा पूर्वी नेपालका विराटनगर, धरान, इटहरी लगायतका क्षेत्रबाट आगन्तुक आउने गरेका छन्। पछिल्लो समय सो क्षेत्रमा वनभोज खान आउनेको भिड लाग्ने गरेपछि त्यहाँ स्थानीय वडा र पनि सामुदायिक वनले टहरा, खानेपानी र बिजुली बत्तीको विस्तार गरेको वडा नं २ का अध्यक्ष कुमार कँडेल राजन बताउँछन्। रासस