Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

सौराहामा पर्यटकीयमार्ग निर्माण हुने


चितवन। चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ। सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो।

नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरे। उनले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए।

कूल १४ करोड २४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ। ‘सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ। हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ,’ उनले भने।

सौराहाको सुन्दरता बढाउन र समुदायको दीर्घकालीन हितका निम्ति यो आयोजना निर्माण गरिन लागेकाले निर्माणका क्रममा भत्काउनुपर्ने स्थायी/अस्थायीका लागि कसैले पनि चित्त दुखाउन नहुने उनको भनाइ छ। उनले सिमलको रुख काट्ने प्रक्रियाका लागि निकुञ्जसँग समन्वय गर्ने र सडक निर्माणका क्रममा घरविहीन हुनेलाई नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिद्धबता व्यक्त गरे।

आयोजना निर्माणको जिम्मा लोहनी–लोहनी एण्ड सन्स्–हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ। आयोजनाको काम विसं २०८१ जेठ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने छ।

सौराहामा करिब ३० करोड रुपैयाँको बजेट परेको भन्दै उनले नगर गौरवको आयोजनाअन्तर्गत बूढीराप्तीमा चित्रसारीदेखि सौराहा जोड्ने कूल तीन करोड ९५ लाख रुपैयाँको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको बताए । नगरप्रमुखका रुपमा पाँचवर्षे कार्यकालमा सौराहालाई सुगम पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्य रहेको उनको भनाइ छ।

रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरीले सौराहाको विकासका लागि राप्ती नदीमा ड्याक निर्माणदेखि पूर्वाधार विकासका लागि पछिल्लो समय भएका काम उदाहरणीय रहेको बताए। रत्ननगरले सबैभन्दा धेरै बजेट सौराहा क्षेत्रमा लगाएकाले सौराहालाई नमूना पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन व्यवसायीको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे।


Read Previous

नेपालमा पहिलोपटक ‘स्पेसल प्लानिङ प्लेटफर्म’ सुरु

Read Next

पर्यटकीय क्षेत्रको रूपमा परिणत हुँदै सिमसार

Leave a Reply

Your email address will not be published.