Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सडकको पहुँचसँगै फेरियो जीवनशैली


भोजपुर । सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो।

सडकको पहुँच विस्तार भएपछि स्थानीयमा व्यावसायिक धाराणाको समेत विकास भएको छ। पछिल्लो दुई दशकको अवधिमा भोजपुरले सडकको क्षेत्रमा अग्रता लिएपछि मानिस व्यावसायिक खेतीमा जुटेका छन्। आफ्नो बारीमा उत्पादन भएको कृषिउपज कुहिएर गइरहेको अवस्थामा सडक पुगेपछि यहाँको उत्पादनले बाह्य बजारमा स्थान पाएका छन्।

भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादन बाहिर पठाउन सहज भएको हो। आजभन्दा करिब नौ वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन्। सडक विस्तारले अहिले गाउँघरका कुना/कुनामा उत्पादन भएका आलु, मकैलगायत कृषिउपज सहरका बजारमा पुग्न थालेका छन्। हुन त भोजपुर जिल्लामा सडकको विस्तार भएको लामो समय भएको छैन। यहाँ २०६५ सालमा हेलिकप्टरबाट जिप ल्याएको इतिहास छ।

छिमेकी जिल्ला धनकुटामा सडक जोडिएको ३० वर्षपछि यहाँ कच्ची सडक खनिएको स्थानीय जानकार गणेश श्रेष्ठको भनाइ छ। यहाँ २०५६ सालबाट तत्कालीन ग्रामीण सडक परियोजना (¥याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो। त्यसपछि लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनको भनाइ छ। ‘तुलानात्मक रूपमा भोजपुरमा सडकको विकास ढिला नै भएको हो,’ उनले भने, ‘सडक पहुँचमा जोडिएपछि भोजपुरको मुहारमा नै परिर्वतन आएको छ। सडकले अहिले ग्रामीणस्तरसम्म प्रत्यक्ष लाभ पुगेको छ।’

नुन, चामल, मट्टितेल दश दिनसम्म लगाएर ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था यहाँका स्थानीयवासीले भोगेका छन्। नुनको जोह गर्न तत्कालीन अवस्थामा सुनसरीको चतरा, धनकुटाको हिले, उदयपुरको बेलटार मुख्य बजार रहेको स्थानीय ७३ वर्षीय वृद्ध मानबहादुर विष्ट सुनाउँछन्। ‘सडक विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको छ,’ उनी भन्छन्, ‘सडक नहुँदा नुन, तेल चामल दश दिनसम्म बोकेर जीवनयापन गरेको अनुभव छ। हाम्रो पाला बस चड्न पाइँदैनजस्तो लाग्थ्यो।अहिले आफ्नै घरको करेसाबाट बस गुड्छ। गाउँगाउँसम्म मोटर बाटो पुगेको छ। अहिलेको पुस्तालाई सहज छ ।’

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्रे भएको छ। यो सडक जिल्लामा कालोपत्रे भएको पहिलो सडक पनि हो। भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्वाई करिब एक सय ५४ किलोमिटर छ। अहिले सुविधायुक्त बस, भोजपुरबाट दैनिक काठमाडौं, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन्। राष्ट्रिय राजमार्गसँग जोडिएको यो सडक भोजपुरवासीका लागि विकासको ढोकारूपमा रहेको छ।

काठमाडौंसम्मको छोटो सडक सञ्जालसँगको रूपमा जोड्नका निमित्त जिल्लाको पश्चिमी क्षेत्रको देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। अहिले यो बाटो भएर मानिस दशदेखि बाह्र घण्टामा काठमाडौं पुग्न थालेका छन्। छोटो सडकमार्ग बनेपछि यहाँका बास तथा अन्य सामग्री सोझै काठमाडौं लैजान थालिएको छ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, सिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोटाङ, अन्नपूर्णलगाउत ठाउँलाई छोएर यो सडक विस्तार गरिएको छ। यहाँ नागरिकले अहिले कालोपत्रे सडकबाट आफ्ना कृषिउपज बिक्री गर्ने अवस्था बनेको छ। एक दिनसम्मको पैदलयात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन्।

यस क्षेत्रमा उत्पादन भएका कृषिउपज अहिले काठमाडौं, धरान विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । सडकको सहज पहुँच भए पनि स्थानीय व्यावसायिक खेतीमा आकर्षित भएका छन्। उत्पादन भएको कृषि उपजक किन्नको लागि ठेकेदार घरमा नै पुग्ने गरेको टेम्केमैयुङका कृषक पासाङ शेर्पाले बताए।

कच्ची नै भए पनि सडकको उपभोग गर्न पाउदा जनजीवन सहज बनेको उनको भनाइ छ। ‘सडकले विकासको लहर आउने रहेछ,’ उनले भने, ‘पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको आलुलगायत सामग्री बिक्री गर्न समस्या थियो। बेँसीमा लगेर धानसँग साटेर खानुपर्ने अवस्था थियो। अहिले सडक आएपछि घरबाट नै बिक्री गर्न पाएका छौँ।’ सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रूपमा खेती गर्ने धाराणाको विकास भएको स्थानीय कृषक मनमाया विष्टले बताइन्। धेरै परिमाणमा उत्पादन गर्नसके बिक्रीको लागि कुनै पनि समस्या नरहेको कृषक विष्टको भनाइ छ। खास गरेर मानिसमा व्यावसायिक धाराणा विकास नहुँदा देश कृषिमा पछि परेको उनको भनाइ छ।

‘कृषिमा व्यावसायिक भएर लाग्न सके जीवनयापन गर्न कठिन छैन,’ उनले भने, ‘विगतमा उत्पादन भएको सामग्री बजारसम्म लैजान समस्या थियो। अहिले घरको आँगनबाट खाली ट्रक कुदिरहेका छन्। उत्पादन गर्न सक्यो भने बिक्रीको लागि बाहिरका सहर पठाउन कठिन छैन।’


Read Previous

६ वर्षमा पनि सम्पन्न भएन गोदावरी सडक

Read Next

चाँदीझैँ टल्किने हिमाल कालो देखिन थालेपछि पर्यटन क्षेत्र प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *