काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण समयावधी ३ महिनाले थप गरेको छ । यससँगै आयोजना तोकिएको समयमा सम्पन्न नहुने भएको छ ।
जापानी निर्माण कम्पनीले हाज्मा आन्दो कर्पोरेशनले निर्माण थालेको ४२ महिनामा आयोजना सम्पन्न गर्ने गरी सडक विभागसँग सम्झौता भएको थियो । तर, अहिले ३ महिना म्याद थप गरेर ४५ महिना पु्र्याएकाे आयोजना प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।
‘निर्माण कम्पनीले थपिएको अवधिभन्दा पनि बढी समय माग गरे पनि अहिले ३ महिना मात्र थपिएको र यही समयावधी भित्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ’ उनल भने । म्याद थप गर्नु पर्नाको कारणमा भने कोभिड १९ मुख्य कारण रहेको आयोजना कार्यालयको भनाइ छ ।
अब कहिले सम्पन्न हुन्छ ?
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको ठेक्का सम्झौता २३ सेप्टेम्बर २०१९ मा भएको थियो । ठेक्का शुरुवात भने १४ नोभेम्बर २०१९ देखि भएको हो । यो मितिदेखि ४२ महिनामा आयोजना सम्पन्न हुने भनिएको थियो ।
तर अहिले ३ महिना थप गरेपछि आयोजना २० जुलाई २०२३ मा सम्पन्न हुने नयाँ कार्यतालिका तय भएको छ । कुनै असहज अवस्था नआएको खण्डमा तोकिएकै सिमारेखा भित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख पोखरेलको भनाइ छ ।
आयोजनाको म्याद थप भए पनि लागतमा भने कुनै परिवर्तन नगरिएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना निर्माण सम्पन्न गर्न कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो ।
तर, जापानिज येन बलियो हुनु र संरचनाको लागि जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।
नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ प्रतिशत नाध्यो
नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति ४५ प्रतिशत नाघेको छ । आयोजना अन्तर्गत सुरुङ निर्माणको प्रगति भने ६७ दशमलव ३० प्रतिशत पूरा भएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए । आयोजनाको कुल वित्तीय प्रगति भने ४८ दशमलव ८३ प्रतिशत पुगेको छ ।
काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर मध्ये १ हजार ६४२ मिटर सम्पन्न भएको छ । त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । त्यसमध्ये २२ कात्तिकसम्म ३ हजार ७०२ मिटर सम्पन्न भएको छ ।
इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ८६० र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ७४ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ८३४ र धादिङतर्फ १ हजार ८६८ मिटर खनिएको छ ।
कुन संरचनामा कति प्रगति ?
आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३ वटै सम्पन्न भइसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ ।
आयोजना कार्यालयका अनुसार अहिलेसम्म ८० प्रतिशत जग्गाको मुआब्जा दिने काम सकिएको छ । फ्लाई ओभरको दुई वटा फाउण्डेशन निर्माण र एउटा सबस्ट्रक्चर सम्पन्न भएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा ११ वटा पूरा भइसकेका छन् ।