काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ को पर्यटकिय स्थल रोल्वालिङ उपत्यकाको बेदिङ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी जिल्लाको दुर्गम गाउँमा विद्युत पुर्याएको हो ।
बेदिङ गाउँका २५ घरधुरीमा मिटर जडान गरी विद्युत वितरण सुरु गरिएको प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघ ढकालले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा पर्ने होटल व्यवसायीलाई लक्षित गरी दुर्गम गाउँमा विद्युतीकरण गरिएको हो ।
‘समुन्द्र सतहबाट ३ हजार ७ सय २१ मिटर उचाईमा रहेको गाउँमा विद्युत पहुँच पुर्याएका छौं,’ उनले भने, ‘स्थानीय स्थानीयबासी र होटलहरू प्राधिकरणको सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।’ उनले बेदन गाउँमा विद्युतीकरण गर्न २५ किलोमिटर लामो ११ केभी वितरण लाइन निर्माण गरिएको छ ।
गाउँमा विद्युतीकरण गर्न ७ दिनसम्म मानिसलाई बोकाएर विद्युतीय पोल तथा तार ढुवानी गरिएको थियो । गाउँमा विद्युत पुर्याउन वितरण लाइन अन्तर्गत सुर्मुचे (२ हजार ४ सय ७० मिटर) मा १५ केभिए र क्याल्चे (२ हजार ८ सय १० मिटर) मा २५ केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको पनि ढकालले बताए ।
अहिलेसम्म वैकल्पिक ऊर्जाका स्रोतमा भर पर्नु पर्ने बाध्यता झेल्दै आएका स्थानीय विद्युत पहुँच पुगेपछि हर्सित भएका छन् । २ दिनसम्म बोकेर पुर्याइको एलपि ग्यास उपयोग गर्दै आएका उनीहरू अब भने ग्यासको विकल्पमा विद्युतीय चुलो उपयोग गर्ने बताउँछन् ।
विद्युत पहुँच पुगेपछि इन्धनकोरूपमा उपयोग गर्नुका साथै बत्ती बाल्न, विद्युतीय उपकरणहरू सञ्चालन गर्न पाउने भएपछि स्थानीय खुशी देखिन्छन् ।जिल्लाको अधिकांश जनतामा विद्युत पहुँच पुगिसकेको छ ।
भौगोलिकरूपमा बिकट क्षेत्रमा सडक सञ्चालन नपुगेकाले विद्युतीय संरचनाको उपकरण मानिसलाई नै बोकाएर लैजानु पर्ने बाध्यताले विद्युत पहुँच पुर्याउन समय लागेको ढकालले बताए । जिल्लामा अहिलेसम्ममा करिब ९८ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ ।