
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे फैलिएका टिकाटिप्पणी र हल्ला निराधार रहेको स्पष्ट पारेका छन्। उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भइरहेका चर्चा प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
घिसिङले नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था रहेको स्मरण गराउँदै जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने विषय आफूले कल्पनासमेत नगरेको बताएका छन्।
“सरकारमा सहभागिताबारे अहिलेसम्म मेरो कसैसँग कुनै पनि प्रकारको छलफल भएको छैन,” उनले भने, “यस सम्बन्धमा फैलाइएका सबै हल्ला कपोलकल्पित हुन्।”
उनले निर्वाचन परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित रहेको पनि स्पष्ट पारे। “हामी अहिले उज्यालो नेपाल पार्टीलाई अझ मजबुत बनाउने र सुशासन तथा समृद्धिसहितको उज्यालो नेपाल निर्माण गर्ने लक्ष्यमा केन्द्रित छौं,” घिसिङको भनाइ छ।
अध्यक्ष घिसिङले आफूविरुद्ध फैलाइएका भ्रामक तथा असत्य प्रचारप्रति भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन्।
