Nepal Purbadhar

अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक


काठमाडौ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको ४ वर्ष भइसक्दा पनि निर्माण कार्य अहिले पनि जारी छ । हालसम्म यस सडक खण्डको करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ । बाटो विस्तारका लागि ठाउँ ठाउँमा खनिएका कारण सडक धुलामे हुने गरेको छ, जसका कारण सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।

यो सडक खण्डको निर्माण कार्य २०७९ देखि सुरु भएको भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ । दैनिक रूपमा हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ प्रवेश गर्ने एक प्रमुख नाकाको रूपमा रहेको यो सडक खण्ड वरिपरि बसोबास गर्ने मानिसहरू अझै प्रभावित छन् ।

करिब १६ किलोमिटर लम्बाई रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको हो ।साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिएको भए पनि काम समयमै पुरा नहुँदा थप समस्या बढ्ने पिर छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो सडक खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन ।

यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ ।

तस्बिर : बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी


Read Previous

निजी क्षेत्रको ऊर्जा सफलता बढ्दो चुनौतीको समाधान मार्गचित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar